काठमाडौँ– सुदूरपश्चिमका सामाजिक विकास मन्त्री लक्ष्मण किशोर चौधरीले जनताले दिएको म्यान्डेट अनुसार नै सरकारमा सहभागी रहेको बताएका छन्।
आज (बिहीबार) पदभार ग्रहण गर्दै मन्त्री चौधरीले आफ्नो पार्टीले एक वर्ष पहिलेदेखि काँग्रेस नेतृत्वको सरकारलाई समर्थन दिएकाले हाल पदभार ग्रहण गर्नु सरकार सञ्चालनको प्रक्रिया मात्रै रहेको बताए।
‘संघीय सरकार होस् या प्रदेश सरकार, पार्टी चलाउने हो या जनताबाट चुनिएका जनप्रतिनिधिले हो भन्ने हो। जनताले हामीलाई म्यान्डेट दिइसकेका छन् सरकार तपाईँहरू चलाउनुस् भनेर’ उनले भने, ‘त्यही म्यान्डेट हामी पालना गरिरहेका छौ। पार्टीले सल्लाह सुझाव दिन सक्छ।
उनले आफूले पाएको जिम्मेवारी सुदूरपश्चिमका जनताको हितमा हुने बताएका छन्। बुधबार मात्रै टीकापुरमा बसेको नाउपाको बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। तर, त्यसको एक दिन नबित्दै नाउपाका एकथरी मन्त्री सरकारको मन्त्रालयको पदभार ग्रहण गरेका हुन्।