खाता सूची : एकल खाता कोष, राजस्व व्यवस्थापन सूचना प्रणाली, कम्प्यूटराईज्ड सरकारी लेखा प्रणाली र धरौटी लेखा
# नमुना प्रश्न : खाता सूची भन्नाले के बुझिन्छ ? खाता सूचीको महत्व उल्लेख गर्नुहोस् । (५+५)
खाता सूची परिचय
कार्यालयमा भएका आर्थिक कारोबारहरुको वर्गिकरण गर्ने, विश्लेषण गर्ने तथा उपयुक्त शीर्षक एवं उपशीर्षकमा संकेतिकरण गर्ने आधारलाई खाता सूचि भनिन्छ ।खाताको वर्गिकरण, नामाकरण एवं संकेतिकरण गर्ने कार्य नै खाता सूचि हो ।
- वित्तीय कारोबार सम्बन्धमा खोलिएका खाताहरुको विवरण एवं सूची नै खाता सूचि हो ।
- नेपाल सरकारले IMF को सरकारी वित्तीय तथ्याङ्क, २००१ अनुसार सर्वप्रथम खाता सूचिको रुपमा “नेपाल सरकार आर्थिक संकेत वर्गिकरण र व्याख्या, २०६७” तयार गरेको थियो ।
- हाल नेपालमा IMF को सरकारी वित्तीय तथ्याङ्क, २०१४ लाई आधार लिई “एकिकृत आर्थिक संकेत तथा वर्गिकरण र व्याख्या, २०७४” लागू गरिएको छ ।
- उक्त संकेत तथा वर्गिकरण र व्याख्या वि.सं २०७४/७/१ मा महालेखा परीक्षकबाट स्वीकृत गरिएको थियो ।
- उक्त वर्गिकरण र व्याख्या प्रदेश र स्थानीय तहमा आ.व २०७४/०७५ देखि र संघमा आ.व २०७५/०७६ देखि लागू गरिएको हो ।
- यसलाई राजस्व संकेत तथा वर्गीकरण, खर्च संकेत तथा वर्गिकरण, वित्तीय संकेत तथा वर्गिकरण र दातृ निकायको संकेत तथा वर्गिकरण गरी ४ समूहमा व्यवस्था गरिएको छ ।
- यसको व्यवस्था सरकारको आम्दानी, खर्च र लगानीलाई व्यवस्थित बनाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप बनाउने उद्देश्यले नेपाल सरकारले सरकारी खाता सूचीको व्यवस्था गरेको हो ।
- यसले वित्तीय सुशासन कायम गर्न मद्दत गर्दछ ।
खाता सूचीको महत्व
खाता सूचीको महत्वलाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ ।
- कारोबारलाई उचित वर्गिकरण, व्याख्या र विश्लेषण गर्न
- लेखा प्रणालीमा एकरुपता कायम गर्न
- कारोबारहरुलाई संकेतका आधारमा बुझ्न
- सरकारी कारोबारलाई अन्तराष्ट्रिय मापदण्ड अनुरुपको बनाउन
- कारोबारलाई तुलनात्मक रुपमा अध्ययन गर्न
- सार्वजनिक उत्तरदायित्व र जवाफदेहीत प्रवर्धन गर्न
अत: खाता सूचीले सरकारी कारोबारलाई व्यवस्थित बनाई आर्थिक पारदर्शिता कायम गर्न मद्दत गर्दछ ।
# नमुना प्रश्न : एकल खाता कोष भनेको के हो ? यसका उद्देश्यहरु उल्लेख गर्नुहोस् । (२+३)
एकल खाता कोष परिचय
सरकारी वित्तीय कारोबारको एकल बैंक खातालाई एकल खाता कोष भनिन्छ। यो सरकारी कार्यालयको नाममा सरकारी कारोबार गर्न बैंकमा अलग-अलग खाता नखोली प्रत्येक जिल्लामा कोष तथा लेखा नियन्त्रक कार्यालयको नाममा मात्र खोलिएको खाता हो।
- यो खाता प्रणाली २०६६ मंसिर १ गतेबाट भक्तपूर जिल्लाबाट शुरुवात गरिएको हो ।
- यो खाता प्रणाली आ.व २०७०/०७१ देखि विनियोजन, धरौटी र राजस्व तर्फको कारोबार सञ्चालन गर्न सबै जिल्लाहरुमा एकल खाता कोष प्रणाली लागू गरिएको हो ।
एकल खाता कोष प्रणालीका उद्देश्य
एकल खात कोष प्रणालीका उद्देश्यहरु देहायबमोजिमका रहेका छन् ।
- सरकारी नगद व्यवस्थापन प्रभावकारी बनाउने
- वित्तीय सुशासन कायम गर्ने
- सञ्चित कोषको यथार्थ जानकारी आवश्यक समयमा प्राप्त गर्ने
- नेपाल सरकारले भूक्तानी गर्नुपर्ने बैंक कमिशन घटाउने
- बैङ्क खाताहरुको संख्या घटाउने
- वित्तीय सूचना प्रणालीलाई प्रभावकारी बनाउने
- बैङ्क हिसाब मिलानमा सहजता ल्याउने
अत: यो सरकारी कोष व्यवस्थापनको नविनतम् अवधारणा हो । यसलाई सरकारी खर्च भुक्तानीको एक द्वार प्रणालीको रुपमा लिईन्छ ।
# नमुना प्रश्न : राजस्व स्रेस्ता प्रणाली भन्नाले के बुझिन्छ ? यसको महत्व उल्लेख गर्नुहोस् । (२+३)
राजस्व श्रेस्ता प्रणाली
- सरकारलाई प्राप्त हुने विभिन्न कर तथा गैरकर रकमलाई राजस्व भनिन्छ।
- राज्यको आम्दामीको मूल स्रोतको रुपमा राजस्वलाई लिईन्छ ।
- राज्य संचालनको मूल आधार राजस्व हो ।
- सरकारलाई प्राप्त हुने राजस्वको वैज्ञानिक रुपमा व्यवस्थापन गर्ने प्रणाली नै राजस्व श्रेस्ता प्रणाली हो ।
- राजस्व रकमको प्राप्ति गर्ने, अभिलेख राख्ने, विश्लेषण गर्ने, मूल्याङ्कन गर्ने र प्रतिवेदन गर्ने सम्मको समग्र कार्य प्रकृयालाई राजस्व श्रेस्ता प्रणाली भनिन्छ ।
- यसले राजस्व रकमको यथार्थ चित्रण गर्न सहयोग पुर्याउँदछ ।
- राजस्व श्रेस्ता प्रणाली अन्तर्गत म.ले.प फा.नं १०१ देखि ११५ सम्म विभिन्न १५ वटा फारमहरुको व्यवस्था गरिएको छ ।
राजस्व श्रेस्ता प्रणालीको महत्व
राजस्व श्रेस्ता प्रणालीको महत्वलाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ।
- सरकारलाई प्राप्त हुने राजस्व रकमको व्यवस्थित अभिलेख राख्न
- राजस्वको हिनामिना र दुरुपयोग रोक्न
- सरकारलाई प्राप्त भएको राजस्वको यथार्थ चित्रण गर्न
- राजस्व खाताको उचित व्यवस्थापन गर्न
- राजस्वको केन्द्रिय हिसाब तयार गर्न
- राजस्व व्यवस्थापनलाई सरल, सहज र मितव्ययी बनाउन
- राजस्व निरीक्षण एवं राजस्व श्रेस्ता परीक्षणलाई सरल बनाउन
- राजस्व प्रशासन सँग सम्बन्धित कर्मचारीलाई उत्तरदायी र जिम्मेवार बनाउन
- राजस्व प्रशासनमा स्रोत र साधनको कुशल उपयोग गर्न
- राजस्व प्रशासनमा आर्थिक अनुशासन कायम गर्न
अत: राजस्व स्रेस्ता प्रणालीले राजस्व रकमको संरक्षण गरि आर्थिक पारदर्शिता कायम गर्दछ ।
# नमुना प्रश्न: राजस्व व्यवस्थापन सूचना प्रणाली भनेको के हो ? राजस्व व्यवस्थापन प्रणालीको महत्व उल्लेख गर्नुहोस् । (२+३)
राजस्व व्यवस्थापन सूचना प्रणाली (Revenue Management Information System – RMIS ) परिचय
- राजस्व सम्बन्धि समग्र विवरणलाई कम्प्यूटर सूचना प्रणालीमा आवद्ध गर्ने कार्य नै राजस्व व्यवस्थापन सूचना प्रणाली हो ।
- राजस्व संकलन प्रकृयालाई प्रभावकारी बनाउने उद्देश्यले महालेखा नियन्त्रक कार्यालयद्वारा यो प्रणाली विकास गरी कार्यन्वयनमा ल्याईएको छ ।
- यसको लागि RMIS नामक सफ्टवेयरको निर्माण गरिएको छ।
- जिल्ला स्तरमा यस प्रणालीको नेतृत्व जिल्लास्थित कोष तथा नियन्त्रक कार्यालयले गर्दछ ।
- यसलाई नेपाल सरकार अर्थ मन्त्रालयको मिति २०७१/०३/२४ को निर्णयअनुसार काठमाण्डौ उपत्यकाको ३ जिल्लामा लागू गरिएको थियो ।
- RMIS हाल सबै जिल्लामा लागू भैसकेको छ ।
- यसले राजस्वको चूहावट नियन्त्रण गर्न, राजस्व संकलनमा शीघ्रता एवं सहजता प्राप्त गर्न र राजस्वको लेखापालन, लेखापरीक्षण र प्रतिवेदनमा सहजता हासिल गर्न मद्दत गर्दछ।
राजस्व व्यवस्थापन सूचना प्रणालीको महत्व
राजस्व व्यवस्थापन सूचना प्रणालीको महत्वलाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ ।
- राजस्व संकलन एवं परिचालन कार्यलाई प्रभावकारी बनाउन
- राजस्व सम्बन्धी सूचना तथा तथ्याङ्कलाई प्रभावकरी ढङ्गले भण्डारण गर्न
- वित्तीय सुशासन कायम गर्न
- विद्युतीय शासनलाई मूर्तता प्रदान गर्न
- राजस्वको लेखाङ्कन एवं प्रतिवेदन कार्यलाई सरल र सहज बनाउन
- न्यून लागतमा उच्च प्रतिफल हासिल गर्न
- आर्थिक अनुशासन कायम गर्न
- भ्रष्टाचार र अनियमितता न्यूनिरण गर्न
- स्रोत र साधनको महत्तम् उपयोग गर्न
अत: राजस्व रकमलाई प्रभावकारी रुपमा उपयोग र परिचालन गर्न राजस्व व्यवस्थापन प्रणालीको ठूलो योगदान रहेको हुन्छ।
# नमुना प्रश्न : कम्प्यूटराईज्ड सरकारी लेखा प्रणाली भन्नाले के बुझिन्छ ? कार्यालयमा यसको आवश्यकताबारे प्रश्ट पार्नुहोस् । (२+३)
कम्प्यूटराईज्ड सरकारी लेखा प्रणाली
आर्थिक कारोबारहरुलाई सफ्टवोयर मार्फत कम्प्यूटरमा प्रविष्टी गरि लेखा प्रणालीलाई कम्प्यूटर प्रणालीमा आवद्ध गर्ने कार्य नै कम्प्यूटराईज्ड लेखा प्रणाली हो ।
- यसलाई विद्युतीय लेखा प्रणालीको नामले समेत चिनिन्छ।
- यसले सरकारी लेखा प्रणालीलाई व्यवस्थित एवं सरलीकृत गर्न सहयोग पुर्याउँदछ ।
- कम्प्यूटराईज्ड सरकारी लेखा प्रणाली नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७७/७/२० को निर्णयअनुसार संघ र प्रदेश सरकार अन्तर्गतका सबै सरकारी कार्यालयहरुमा आर्थिक बर्ष २०७७/७८ देखि अनिवार्य रुपमा लागू गरिएको छ।
कम्प्यूटराईज्ड लेखा प्रणालीका आवश्यकता
कम्प्यूटराईज्ड लेखा प्रणालीका आवश्यकतालाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ ।
- सरकारी लेखा प्रणालीलाई प्रविधिमैत्री बनाउन
- सार्वजनिक वित्तीय सूचना प्रणालीलाई प्रभावकारी बनाउन
- सरकारी लेखालाई पारदर्शी बनाउन
- वित्तीय जवाफदेहीता र उत्तरदायित्व प्रवर्धन गर्न
- एकल खाता कोष प्रणालीलाई प्रभावकारी बनाउन
- सरकारी लेखा प्रणालीमा एकरुपता कायम गर्न
- सरकारी लेखा प्रणालीलाई अन्तरर्राष्ट्रिय मापदण्ड अनुरुप सञ्चालन गर्न
अत: सरकारी लेखापालनमा सम्बद्ध पदाधिकारीलाई थप जिम्मेवार र उत्तरदायी बनाउन कम्प्यूटराईज्ड लेखा प्रणालीको अहम् भूमिका रहन्छ ।
# नमुना प्रश्न : धरौटी स्रेस्ता प्रणाली भनेको के हो ? यसको महत्व प्रश्ट पार्नुहोस् । (२+३)
धरौटी स्रेस्ता प्रणाली
- कुनै काम टुंङ्गो नलागेसम्म सुरक्षण बापत राखिएको रकम नै धरौटी रकम हो ।
- धरौटी रकमको व्यवस्थित अभिलेख राख्ने, प्रतिवेदन गर्ने तथा विश्लेषण गर्ने कार्यपद्धतीलाई नै धरौटी स्रेस्ता प्रणाली भनिन्छ ।
- यसले धरौटी रकमको दुरुपयोग र हिनामिना रोक्न सहयोग पुर्याउँदछ ।
- धरौटी रकमलाई व्यवस्थित गर्ने कार्यलाई धरौटी स्रेस्ता प्रणालीको रुपमा बुझिन्छ ।
- धरौटी स्रेस्ताको म.ले.प फा.नं ६०१ देखि ६०८ सम्म विभिन्न ८ वटा म.ले. प फारमहरुको व्यवस्था गरिएको छ।
- आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐन, २०७६ र नियमावली, २०७७ ले धरौटी स्रेस्ता प्रणालीलाई नियमन र नियन्त्रण गर्ने कार्य गरेको छ ।
धरौटी स्रेस्ता प्रणालीको महत्व
धरौटी स्रेस्ता प्रणालीको महत्वलाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ ।
- धरौटी रकमको दुरुपयोग रोक्न
- धरौटी रकमको केन्द्रिय हिसाब तयार गर्न
- धरौटी खाताको उचित व्यवस्थापन गर्न
- नीति, योजना तथा कार्यक्रमको तर्जुमा गर्न आवश्यक सूचना एवं तथ्याङ्क उपलब्ध गराउन
- धरौटी निरीक्षण एवं धरौटी स्रेस्ता परीक्षणको कार्यलाई प्रभावकारी बनाउन
- धरौटी रकमको व्यवस्थापनलाई सरल, मितव्ययी, विश्वसनीय र प्रभावकारी बनाउन
- कर्मचारीलाई जिम्मेवार र जवाफदेही बनाउन
- आर्थिक अनुशासन कायम राख्न
अत: धरौटी रकमको संरक्षण र सुरक्षा गर्न धरौटी स्रेस्ता प्रणालीको महत्वपूर्ण योगदान रहन्छ ।
# नमुना प्रश्न : धरौटी रकम राख्ने अवस्था उल्लेख गर्दै धरौटी स्रेस्ताको सम्बन्धमा नेपालामा रहेका समस्या र धरौटी श्रेस्तामा प्रयोग हुने फारमहरुको नाम उल्लेख गर्नुहोस् ।(२+४+४)
धरौटी स्रेस्ता परिचय
कुनै काम टुङ्गो नलागेसम्म सुरक्षण बापत राखिएको रकमलाई धरौटी रकमा भनिन्छ। धरौटी रकमलाई अभिलेखिकृत गर्ने कार्य नै धरौटी स्रेस्ता हो ।
धरौटी रकम राख्ने अवस्थाहरु
प्रचलित कानूनमा उल्लेख भएबमोजिम देहायबमोजिमका अवस्थामा धरौटी राख्नुपर्ने व्यवस्था छ ।
- नेपाल सरकारलाई बुझाउनु पर्ने राजस्व अग्रिम रुपमा बुझाउन
- नेपाल सरकारलाई बुझाउनु पर्ने राजस्व कति बुझाउनु पर्ने हो निर्णय नहुँदै त्यस्तो राजस्व अग्रिम रुपमा बुझाउन
- बोलपत्र वा लिलाममा भाग लिनको लागि सम्बन्धित कार्यालयले तोकिदिएको रकम दाखिला गर्न
- कुनै काम गर्नु अगावै कुनै रकम अग्रीम धरौटी राख्नु पर्ने भनी शर्त भएमा त्यस्तो शर्त पूरा गर्न
- नेपाल सरकार वा अदालत वा कुनै कार्यालयले मागेको धरौटी जमानत बुझाउन
- भन्सार, कर सम्बन्धी कार्यालहरुमा निकासी पैठारी कामको सिलसिलमा र अग्रीम कर वा विवादित कर रकम बुझाउन
- अदालत तथा अर्धन्यायिक निकायहरुमा मुद्दा मामिलाका सिलसिलामा आवश्यक जमानत रकम राख्न
- अन्य कुनै कारणबाट धरौटी राख्नु पर्ने भए त्यस्तो रकम बुझाउन
धरौटी स्रेस्ता प्रणालीमा नेपालमा देखिएका समस्याहरु
धरौटी स्रेस्ता प्रणालीमा नेपालमा देहायबमोजिमका समस्याहरु रहेका छन् ।
- दक्ष कर्मचारीको अभाव
- धरौटी व्यवस्थापनमा साधन र स्रोतको कमी
- प्रविधिको न्यून प्रयोग
- कर्मचारीलाई तालिमको अभाव
- पारदर्शिताको कमी
- अनुगमन र मूल्याङ्कन प्रणालीलाई प्रभावकारी बनाउन नसकिनु
- बढ्दो भ्रष्टाचार र अनियमितता
धरौटी श्रेस्ता प्रणालीमा प्रचलित फारम
धरौटी स्रेस्ता प्रणालीमा प्रचलित फारमलाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ।
| फारम |
म.ले.प फा. नं |
| व्यक्तिगत धरौटी खाता |
६०१ |
| गोस्वारा धरौटी खाता |
६०२ |
| धरौटीको बैङक नगदी किताब/ हिसाब खाता |
६०३ |
| बैंक प्रत्याभूति अभिलेख खाता |
६०४ |
| सरकारी निकायले अन्य निकायमा राखेको धरौटी खाता |
६०५ |
| सरकारी निकायले अन्य निकायमा राखेको धरौटीको गोस्वारा खाता |
६०६ |
| धरौटीको वित्तिय विवरण |
६०७ |
| सरकारद्वारा दिईएको प्रत्याभूतिको अभिलेख खाता |
६०८ |
अत: धरौटी स्रेस्ता प्रणाली धरौटी रकमलाई व्यवस्थित रुपमा संरक्षण गर्दै उपयोग गर्ने विधि एवं पद्धती हो ।
#नमुना प्रश्न : केस्तो अवस्थामा धरौटी रकम राजस्वमा आम्दानी बाँध्नुपर्ने कानुनी व्यवस्था छ ।
धरौटी रकम राजस्वमा आम्दानी बाँध्नुपर्ने व्यवस्था
- धरौटी रकम जफत वा कट्टी भएको
- निर्दिष्ट अवधिभित्र धरौटी रकम फिर्ता लिन नआएको
- बैंक खातामा रकम जम्मा भएको तर कार्यालयको धरौटी खातामा लेखाङ्कन नभएको
- कसले के बापत धरौटी राखेको हो भन्ने कुरा स्पष्ट नभई बैंकको खातामा रहको
- कोष तथा लेखा नियन्त्रक कार्यालयको नाममा रहेको धरौटी खातामा सम्बन्धीत कार्यालयको नाममा रहेको बैंक बिवरणमा मा बढी नदेखिएको
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamul, Kathmandu
Contact No. 01-4792427, 9851246100, 985114610
Post Views: 498