राष्ट्रिय समझदारीअनुसार शान्ति प्रक्रिया टुङ्गो लाग्छ - Chaitanya News
  • 2026-07-10
  • 14:46:43
  • शुक्रबार,आषाढ २६, २०८३
  • राष्ट्रिय समझदारीअनुसार शान्ति प्रक्रिया टुङ्गो लाग्छ

    राष्ट्रिय समझदारीअनुसार शान्ति प्रक्रिया टुङ्गो लाग्छ

    काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय समझदारी बनाएर शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउन सरकार प्रयत्नशील रहेको बताएका छन्।

    द्वन्द्वपीडित परिवारका विभिन्न संघसंस्थाका प्रतिनिधिसँग आज सिंहदरवारमा भेट गर्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगका विषयमा अदालतको आदेश पालना गर्न सरकार प्रतिबद्ध रहेको समेत बताए।

    सरकारले चाहँदाचाहँदै पनि सङ्क्रमणकालीन न्याय टुङ्ग्याउन सकिएको छैन”, उनले भने, “शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउन नदिने शक्ति पनि सक्रिय नै छन्, त्यसले गर्दा कतिपय समस्या भएको छ।” उनले शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउनका लागि त्यससम्बन्धी विधेयक सरकारले अगाडि बढाएको जानकारी गराए।

    द्वन्द्वपीडित परिवारका सदस्यलाई रोजगारी उपलब्ध गराउन, द्वन्द्वमा घाइते भएका व्यक्तिको स्वास्थ्योपचार गर्न र उनीहरूका लागि आवासको व्यवस्था गर्न सरकार प्रयासरत रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले शान्ति प्रक्रियाका कामलाई तार्किक निष्कर्षमा पुर्‍याएर स्थायी शान्ति कायम गर्न आफू प्रतिबद्ध रहेको बताएका छन्।