नियत सफा राखेर काम गर्नुस्, कुनै समस्या आए म छु - Chaitanya News
  • 2026-07-10
  • 15:48:18
  • शुक्रबार,आषाढ २६, २०८३
  • नियत सफा राखेर काम गर्नुस्, कुनै समस्या आए म छु

    नियत सफा राखेर काम गर्नुस्, कुनै समस्या आए म छु

    काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नियत सफा राखेर काम गर्ने कुनै पनि राष्ट्र सेवक कर्मचारीमाथि समस्या पर्न नदिने बताएका छन्।

    आज (सोमबार) प्रधानमन्त्री कार्यालयमा भएको सचिवहरूको नियमित बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले निर्दोषलाई समस्या भएमा त्यसको जिम्मेवारी आफूले लिने समेत बताए।

    कार्यसम्पादन गर्दा कसैको भय र त्रासमा नपर्नु होला, कानून बमोजिम काम गर्न डराउनु पर्दैन,” प्रधानमन्त्रीले भने, “असल नियतले काम गरेको विषयमा निर्दोष मानिसलाई कहीँ कतै समस्या भएमा त्यसको जिम्मेवारी मैले लिनेछु।

    नयाँ समीकरणको सरकार थप ऊर्जा, नयाँ सोच, उद्देश्य, कार्यसूची र कार्ययोजनाका साथ आएको बताउँदै प्रधानमन्त्रीले सोहीअनुरूप अगाडि बढ्न निर्देशन दिए। “राजनीति र प्रशासक सरकारका अभिन्न अङ्ग हुन्,” प्रधानमन्त्रीले भने, “हालसम्म यहाँहरूबाट सहयोग प्राप्त हुँदै आएको छ। अझै थप जाँगर र जोसका साथ काम गर्नु हुनेछ भन्ने विश्वास लिएको छु।

    सुशासन आफ्नो पहिलो प्राथमिकताको विषय भएको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, “म आफू पनि राष्ट्र र कानुन विपरितको कुनै पनि काम गर्दिन र तपाईहरू पनि यस्तो कार्यमा लाग्नु हुने छैन भन्ने मैले विश्वास लिएको छु।

    जनताले प्रत्यक्ष अनुभूति गर्नेगरी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले शिक्षा, स्वास्थ्य, यातायातजस्ता आधारभूत सेवा, राहादानी, सवारी चालक अनुमतिपत्र, राष्ट्रिय परिचयपत्र वितरण तथा मालपोत करदस्तुर बुझाउनेजस्ता सेवा लिन नागरिकले बेहोरेका सास्ती हटाउने काम तत्काल प्राथमिकतामा राख्न निर्देशन दिए।

    तेस्रो त्रैमासिकको लगभग अन्त्यसम्म आईपुग्दा समेत पुँजीगत खर्च सन्तोषजनक नभएको बताउँदै प्रधानमन्त्रीले आयोजना अधुरा रहनु तथा काम सम्पन्न भईसकेकका आयोजनाको पनि भुक्तानी हुन नसक्नु सुखद पक्ष होइन भने।