काठमाडौँ– सभामुख देवराज घिमिरेले नेपाल सबै राष्ट्रहरूले एक–अर्काको अस्तित्वको सम्मान गर्नुपर्छ भन्नेमा सधैँ अडिग रहेको बताएका छन्।
आज (सोमबार) स्विट्जरल्यान्डको जेनेभामा आयोजित अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १४८औँ महासभामा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले नेपाल सदैव शान्ति र सहअस्तित्वको पक्षधर रहँदै आएको समेत बताए।
‘ठूला र शक्तिशाली राष्ट्रले साना र कमजोर राष्ट्रको अस्तित्वलाई स्वीकार र सहन गर्न नचाहँदाका दुष्परिणामहरू हामीले इतिहासका अनेक कालखण्डमा भोगिसकेका छौँ’ सभामुख घिमिरेले भनेका छन्, ‘असंलग्न आन्दोलनको संस्थापक सदस्य रहेको नेपाल सबै राष्ट्रहरूले एक अर्काको अस्तित्वको सम्मान गर्नुपर्छ भन्नेमा सधैँ अडिग छ।
नेपालको संविधानले नै संयुक्त राष्ट्र संघको बडापत्र, असंलग्नता, शान्तिपूर्ण सहअस्तित्वका पञ्चशीलको सिद्धान्त, अन्तर्राष्ट्रिय कानुन र विश्व शान्तिका मूल्यमान्यतामा आधारित अन्तर्राष्ट्रिय सम्बन्ध नीति निर्दिष्ट गरेको उनले बताए।
संविधानले अंगीकार गरेको यो नीतिलाई नेपालको संघीय संसदले आत्मसात् गरेको पनि उनले बताए।
वर्तमान समयमा भने संसारका विभिन्न भागमा राष्ट्रहरूबीच तनाव र द्वन्द्वको स्थिति सिर्जना भएको पनि उनले स्मरण गराए।
राज्यको नेतृत्वले संसद र आम नागरिकको भावना नबुझी आफूखुसी चालेका कदमहरूबाट धेरैजसो तनावहरूको उत्पत्ति भएको उनको बुझाइ छ।
सरकारका गतिविधिहरूको निगरानी गर्ने भूमिकामा रहेको संसदले यस्ता स्वेच्छाचारी कदमहरूमा रोक लगाएर अन्तर्राष्ट्रिय समुदायमा शान्ति र समझदारी कायम गर्नुपर्ने उनले बताए।
सभामुख घिमिरेले भनेका छन्, ‘कूटनीतिको कार्यक्षेत्र युद्धको रोकथाम गर्ने वा भइरहेका युद्धको अन्त्य गर्नेमा मात्रै सीमित छैन।
विश्वका ज्वलन्त चुनौतीहरूको सामना गर्न समान चासो भएका मुलुकहरूको सहकार्य र सामूहिक प्रयास अपरिहार्य छ।
‘नेपालले जलवायु परिवर्तनको मार सहिरहेको छ’ सभामुख घिमिरेले नेपालले जलवायु परिवर्तनको मार सहिरहेको पनि बताएका छन्।