विद्यालय शिक्षा विधेयकमाथि दफावार छलफल सुरु - Chaitanya News
  • 2026-07-16
  • 19:33:59
  • बिहिबार,आषाढ ३२, २०८३
  • विद्यालय शिक्षा विधेयकमाथि दफावार छलफल सुरु

    विद्यालय शिक्षा विधेयकमाथि दफावार छलफल सुरु

    काठमाडौँ– विद्यालय शिक्षा विधेयकमाथि दफावार छलफल सुरु भएको छ।

    आज (शुक्रबार)बाट विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने सांसदहरूसँग दफावार छलफल सुरु भएको हो। यसअघि शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले सरोकारवालाहरूसँग छलफल गरेको थियो।

    दफावार छलफलमा बोल्दै नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले विद्यालय शिक्षा तीन वटै सरकारको साझा अधिकार क्षेत्रभित्र रहेको बुझ्नुपर्ने बताए।

    ‘माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहको एकल अधिकारभित्र रहेको मत समेत आएको छ। तर यो संघबाट अलग छैन। यसकारण तीन वटै तहको अधिकार र कर्तव्यभित्र पर्छ भन्ने बुझ्नुपर्छ। यसरी प्रष्ट भयौँ भने अगाडि बढ्न सहज हुन्छ,’ उनले भने।

    बडूले जिल्ला शिक्षा कार्यालय नराख्ने र हाल रहेको शिक्षा विकास तथा समन्वय कार्यालय यथावत राख्ने प्रस्ताव गरेका छन्।

    परीक्षा ५, ८, १० र १२ कक्षामा लिनुपर्ने। ५ सम्मको परीक्षा स्थानीय तहले लिने, ८ को जिल्लाले लिने र १० कक्षाको परीक्षामा प्रदेशको उपस्थिति गराउने उनको प्रस्ताव छ। १२ कक्षाको परीक्षा केन्द्रले लिने सरकारको प्रस्तावमा बडूले समर्थन गरेका छन्।

    शिक्षकको सरुवा गर्दा स्थानीय तहले शिक्षा विकास तथा समन्वय कार्यालयको परामर्श लिनुपर्ने व्यवस्था राख्नुपर्ने काँग्रेस सांसद बडूले प्रस्ताव गरेका छन्।