काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले कर्णाली प्रदेश सरकारको नेतृत्व एमालेले पाउने बताएका छन्।
आज (बिहिबार) एमालेको सुर्खेत जिल्ला कमिटीको नवौँ अधिवेशनको बिहीबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले कर्णालीमा अहिलेसम्म सरकारको नेतृत्व गर्ने अवसर नपाएकाले यसपटक एमालेले पाउने बताएका हुन् ।
कर्णालीमा माओवादी बलियो भएकै आधारमा उसले मात्र सरकारको नेतृत्व गर्नुपर्छ भन्ने मान्यता ठिक नभएको पनि उनले बताए।
‘हामी सहकार्यलाई एउटा स्पिडमा अगाडि बढाउन चाहन्छौँ भने त्यो उदारता कर्णालीका माओवादी साथीहरूमा हुनुपर्छ,’ महासचिव पोखरेलले भने, ‘अगाडि बढेर उहाँहरूले नै भन्नुपर्छ, ‘हामीले धेरै पटक नेतृत्व गर्यौँ कमरेड, अब एक पटक तपाईँहरूको नेतृत्वमा कर्णालीको विकास कसरी हुँदो रहेछ हेर्न चाहन्छौँ।
एमालेले मधेश र कर्णालीबाहेक बाँकी ५ प्रदेशमा सरकारको नेतृत्व गरिसकेको र कर्णालीमा परीक्षण हुन बाँकी रहेको महासचिव पोखरेलले बताए।
‘कर्णालीमा अहिलेसम्म माओवादीकै साथीहरूको नेतृत्व गरिरहनुभएको छ। एमालेका नेता कार्यकर्ताले पनि एक पटक हामीले नेतृत्व गर्ने मौका पाउनुपर्छ भन्ने कुरालाई माओवादीका साथीहरूले हार्दिकतापूर्ण तरिकाले स्विकार्नुपर्छ। र, स्वागत गर्नुपर्छ’, उनले भने।