काठमाडौँ– परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले परराष्ट्र मामलाका सम्बन्धमा राष्ट्रिय सहमति कायम गर्नुपर्ने बताएका छन्। आज (सोमबार)को संसद् बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो बताएका हुन्। यस्तै उनले राष्ट्रिय हितलाई सर्वोपरि राख्ने गरी परराष्ट्र नीति अवलम्बन नगरिए गम्भीर चुनौती आउने भन्दै त्यसका लागि सबै एक ठाउँमा आउनुपर्ने समेत जनाए।
उनले स्वतन्त्र परराष्ट्र नीति र दक्ष र कुशल कूटनीतिबाट सरकार पछि नहट्ने भन्दै त्यसका लागि सरोकारवाला सबैको साथ आवश्यक रहेको पनि बताए।
‘परराष्ट्र मामलाका सम्बन्धमा राष्ट्रिय सहमति कायम गरौँ’, मन्त्री श्रेष्ठले विशेष अपिल गर्दै भने। साथै उनले नेपालले दुई छिमेकी देशसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिएको पनि बताए।
‘दुई छिमेकीसँगको सम्बन्धलाई प्राथमिकता, सबै विश्वका मित्रहरूसँग मैत्रीपूर्ण सम्बन्ध, विकास साझेदारहरूसँग पनि सहभागितामूलक सुसम्बन्धका आधारमा हाम्रो परराष्ट्र नीति सञ्चालित हुने र अघि बढ्नेछौ’, मन्त्री श्रेष्ठको भनाइ छ।
उनले राष्ट्रिय हितलाई सर्वोपरि राखेर विश्वको बदलिँदो अवस्था, हाम्रो भूराजनीतिक परिस्थिति र त्यससँग जोडिएको संवेदनशीलतालाई पनि ध्यान दिएर सरकार स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्दै त्यसको कार्यान्वयनका लागि दक्ष र कूटनीतिक माध्यमबाट अघि बढ्ने प्रयास गरिरहेको समेत बताए।
उनले कूटनीतिक आचारसंहिता सबैले पालना गर्नुपर्ने भन्दै कूटनीतिक आचारसंहिता पालनाका लागि सरकारे प्रभावकारी कदम चाल्ने जानकारी दिए। ‘परराष्ट्र सम्बन्ध र कूटनीतिका मामलामा राष्ट्रिय सहमतिको आवश्यकता छ। हामीले हाम्रो देशको हितलाई केन्द्रमा राखेर सबैले यस मामलामा सहमतिका साथ अघि बढ्नुपर्नेछ’, उनले भने, ‘हामीले हाम्रो देशको हितलाई केन्द्रबिन्दुमा राख्दा कहीँ कतै कुनै कारणले अन्य स्वार्थहरू हाबी हुन दियौ भने, त्यसबाट प्रभावित भयौ भने हाम्रा पुर्खाहरूले हामीलाई दिएको यो स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न देशको राष्ट्रिय हितका सन्दर्भमा गम्भीर चुनौतीहरू उपस्थित हुन सक्छन्।