विकासलाई उत्पादनमुखी बनाउने सरकारको लक्ष्य - Chaitanya News
  • 2026-07-10
  • 17:56:36
  • शुक्रबार,आषाढ २६, २०८३
  • विकासलाई उत्पादनमुखी बनाउने सरकारको लक्ष्य

    विकासलाई उत्पादनमुखी बनाउने सरकारको लक्ष्य

    हेटौँडा– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सरकारले विकासको लक्ष्य लिएर अघि बढेको बताएका छन्।आज (सोमबार) मकवानपुरको मनहरीमा रजैया दरदरा मोटरेबल पुलको शिलान्यास गर्ने क्रममा उनले यस्तो बताएका हुन्। यस्तै उनले प्रदेश सरकारले विकास निर्माणका कामलाई उत्पादनसँग जोड्ने रणनीतिअनुसार काम गरिरहेको समेत बताए।

    मुख्यमन्त्री जम्कट्टेलले विकास निर्माणका कामलाई उत्पादनमुखी ढङ्गबाट अघि बढाएर आर्थिक समृद्धिमा अग्रसर हुने सरकारको लक्ष्य रहको बताए। कृषि, पर्यटन तथा उद्यमशीलतामा भूमिका खेल्ने गरी विकास निर्माणका काम अघि बढाउने सरकारको तयारी रहेको उनले बताए। सरकार परिवर्तनसँगै नीति बदलिने समस्यालाई हल गर्दै ५ वर्षे नीतिमा काम गर्ने गरी बागमती प्रदेश सरकार अघि बढिरहेको उनको भनाइ छ।

    ‘प्रदेश सरकारले विकासको मोडल परिवर्तन गरेर अघि बढिरहेको छ। देशले नै अनुसरण गर्ने गरी विकासको मोडल तयार पारेर बागमती प्रदेश सरकारले ५ वर्षे नीतिसहित काम गरिरहेको छ’ उनले भने, ‘प्रदेश सरकारले विषयगत क्षेत्रको विकासका लागि नीतिगत व्यवस्था गरिएको छ। स्थानीय तहको सुझाव र विगतका अनुभवबाट प्रदेश सरकारले आफ्ना कामलाई परिष्कृत गर्दै अघि बढेको छ। प्रदेश सरकारको आर्थिक समृद्धिको योजनामा भौतिक पूर्वाधार निर्माण चुनौतीका रूपमा देखिएको छ।

    उनका अनुसार प्रदेश सरकारले पूर्वाधार विकास अन्तर्गत ठुला सडक पुलहरूमा लगानी गर्ने रणनीति बनाएको छ। साना योजनाहरू स्थानीय तहलाई नै कार्यान्वयन गर्न दिनेगरी प्रदेश सरकारले काम गरिरहेको उनले बताए। प्रदेश सरकारले विकासका कामलाई निरन्तर अवरोध रहित ढङ्गबाट अघि बढाउन पहल गरिरहेको उनको भनाइ छ।