काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा विमानस्थलको सम्पूर्ण ऋणलाई अनुदानमा बदल्ने दमबी गरेका छन। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानको वातावरण बनाउन छिमेकी मित्रराष्ट्र चीन भ्रमणको क्रममा एउटा समझदारी बनेको उनले बताए।
ऋणको सन्दर्भमा २५ प्रतिशत अनुदानमा बदल्न सकिन्छ कि भन्ने सम्भावना मात्रै होइन, सम्पूर्ण ऋणकै बारेमा पनि आफ्नो ध्यान रहेको ‘प्रचण्ड’को भनाइ थियो।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई ऋणमा डुबायो भनेर व्याख्या गर्ने गरिएको बताउँदै ‘प्रचण्ड’ले यो एउटा ऐतिहासिक काम भएको दाबी गरेका छन्।
‘आज मैले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्दैछु, यो सन्दर्भमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको महत्त्व र भूमिका अझ धेरै स्थापित हुन्छ भन्ने पनि विश्वास छ,’प्रधानमन्त्रीले भने, ‘त्यसकारण मेरो ध्यान छ, नियमित उडान भर्ने वातावरणका लागि पनि ऋणको व्यवस्थापनको बारेमा पनि। मेरो ध्यानमात्रै होइन, मैले सम्भावना देखेको छु।
२२ अर्ब रुपैयाँ चिनियाँ ऋणमा बनेको विमानस्थलले ब्याज तिर्न पनि नसक्ने अवस्थाले पोखरेलीलाई चिन्तित बनाएको भन्दै व्यवसायी विश्वशंकर पालिखेले पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।