काठमाडौँ– अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक प्रशासनको कार्यशैलीका कारण जनतामा निराशा छाएको बताएका छन्। आज (आइतबार) नागरिक लगानी कोषको ३४ औँ वार्षिकोत्सवमा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले जनतामा छाएको निराशालाई आशामा परिवर्तन गर्न सबैको साझा प्रयास आवश्यक हुने समेत बताए।
अर्थमन्त्री पुनले आमजनतामा सार्वजनिक प्रशासन, राजनीति, अर्थतन्त्रका क्षेत्र, बैंक तथा वित्तीय संस्था चारैतिर निराशामात्रै देखिएकाले त्यसलाई चिर्नु अहिलेको चुनौती भएको बताए।
राजनीतिक नेतृत्वमा समस्या छन्, शुद्धीकरणको आवश्यकता हामी आफैँले महसुस गर्दै आएका छौँ। यही कार्यशैली रहिरहने हो भने आजको आवश्यकता पूरा गर्न सक्ने अवस्था छैन, राजनीतिक र प्रशासनिक शुद्धीकरण जरुरी छ,’ मन्त्री पुनले अघि भने, ‘३४ वर्ष अगाडि स्थापना भएको यही संस्थाको आज औचित्य सान्दर्भिक छ कि छैन? राज्यले जम्मा गरेका लगानीकर्ता, प्रवर्तक र सञ्चालकहरु जम्मा भएर आजको बजार माग अनुसार हामी प्रतिस्पर्धा गर्न सक्छौँ कि सक्दैनौँ? समीक्षा गर्नुपर्ने अवस्था देखिएको छ।
मन्त्री पुनले देशका केही क्षेत्रमा सुधार र निकै राम्रो प्रगति भए पनि नकारात्मक पक्ष मात्रै बाहिर आएको बताए। उनले राजनीतिक नेतृत्वदेखि सार्वजनिक प्रशासन र व्युरोकेसीसम्मको संयन्त्रमा देखिएका समस्यामाथि समाजले नै प्रश्न उठाइरहेकाले जनअपेक्षा अनुसार काम गर्न कार्यशैलीमा परिवर्तनको खाँचो औँल्याए। उनले नागरिक लगानी कोषले पनि आफ्नो औचित्य पुष्टि गर्नुपर्ने समय आएको उल्लेख गरे।
व्यक्ति, संस्था, प्रशासन, नेतृत्व, राज्य संयन्त्रमाथि प्रश्न उठेपछि जबाफदेही बन्नुपर्ने उल्लेख गरेका उनले प्रश्न उठ्दैमा डराउन नहुने तर सकारात्मक रुपमा अगाडि बढ्न प्रश्नबाटै प्रेरित हुनुपर्नेमा उनको जोड छ।
‘राजनीतिमाथि प्रश्न, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था, लघुवित्तमाथि प्रश्न, व्यवसायी, मिडिया, सहकारी, सबै सार्वजनिक संस्था, न्यायालयमाथि प्रश्न उठेको छ। यहाँहरू जो जहाँ जुन जिम्मेवारीमा हुनुहुन्छ सबैले कानुन भन्दा माथि म छु भन्ने सोच्नु हुँदैन, यो कुरा हामी सबैले ख्याल गर्नुपर्छ,’ पुनले भने।