सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार, आज नै शीर्ष नेताहरूलाई बुझाउने तयारी - Chaitanya News
  • 2026-07-10
  • 18:29:54
  • शुक्रबार,आषाढ २६, २०८३
  • सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार, आज नै शीर्ष नेताहरूलाई बुझाउने तयारी

    सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार, आज नै शीर्ष नेताहरूलाई बुझाउने तयारी

    काठमाडौँ– सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रम बनाउन गठित कार्यदलले न्यूनतम साझा कार्यक्रममा मस्यौदा तयार पारेको छ।

    आज (शुक्रवार) बसेको कार्यदलको बैठकले सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रमको मस्यौदा तयार पारेको नेकपा एमालेका उपाध्यक्ष तथा कार्यदलका संयोजक विष्णुप्रसाद पौडेलले बताए। कार्यदलले तयार पारेको सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रमको मस्यौदा आज नै शीर्ष नेताहरूलाई बुझाउने तयारी रहेको उनको भनाइ छ।

    उनले साझा कार्यक्रममा संविधानको रक्षा,आर्थिक विकास र समृद्धि,अर्थतन्त्रका चुनौती समाधान,आम मानिसहरूमा आशा र विश्वास जगाउने,सार्वभौम सत्ता र स्वाधीनताको रक्षा गर्ने विषयलाई प्राथमिकता दिएको बताए। राष्ट्रलाई समृद्ध बनाउने,जनतालाई सुखी बनाउने,समृद्ध राष्ट्र सुखी नेपालको आकाङ्क्षा पूरा गर्ने र देशलाई समाजवादतर्फ अगाडि बढाउने विषय पनि समावेश गरिएको उनको भनाइ छ।

    उनले कार्यदलले कार्यक्रमको मस्यौदालाई अन्तिम रूप दिएको भन्दै आवश्यक संशोधन गर्न परे शीर्ष नेताहरूले गर्ने बताए।

    उनले भने, ‘सरकारमा सहभागी पाँच राजनीतिक दलको तर्फबाट न्यूनतम साझा कार्यक्रम तयार पार्ने जिम्मेवारी थियो। कार्यक्रम बनाउन निरन्तर छलफलमा थियौँ । न्यूनतम साझा कार्यक्रम तयार भएको छ। आज नै कार्यदलले प्रमुख नेताहरूलाई न्यूनतम साझा कार्यक्रमको मस्यौदा हस्तान्तरण गर्छौँ।

    उनले साझा कार्यक्रममा सुशासनलाई पनि प्राथमिकता दिएको बताए। कार्यदलमा नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादीबाट उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, रास्वपाबाट उपसभापति डा। स्वर्णिम वाग्ले र महासचिव मुकुल ढकाल, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल र जसपाबाट नेताद्वय राजेन्द्र श्रेष्ठ र मनिष सुमन सदस्य छन्।