आज दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची - Chaitanya News
  • 2026-07-10
  • 18:30:08
  • शुक्रबार,आषाढ २६, २०८३
  • आज दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

    आज दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौँ– संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ। प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्नेछ भने राष्ट्रियसभा बैठक बिहान सवा ११ बजेका लागि संसद् भवन नयाँ बानेश्वरमा बोलाइएको छ।

    प्रतिनिधि सभामा सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने सम्भावित कार्यसूची रहेको छ।

    यस्तै, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन)विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ। यता, राष्ट्रियसभा बैठकमा अध्यक्ष नारायण दाहालले राष्ट्रपति कार्यालयबाट मन्त्री नियुक्ति र कार्यभार सम्बन्धी पत्रको व्यहोरा पढेर सदनमा जानकारी गराउनेछन्।

    अर्थमन्त्री वर्षमान पुनले सुरक्षित कारोबार (पहिलो संशोधन)विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव आज सभामा प्रस्तुत गर्नेछन्।

    साथै, दुवै सदनमा आर्थिक वर्ष २०८१–०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी रहने संघीय संसद सचिवालयले जनाएको छ।