रुपन्देही– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीयता कार्यान्वयनका सम्बन्धमा तीनै तहका पदाधिकारीहरूसँग अन्तरक्रिया एवं छलफल गरेको छ। संघीयता कार्यान्वयनका हालसम्मका उपलब्धिहरूबारे मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहका पदाधिकारीहरूसँग अन्तरक्रिया गरेको हो।
रुपन्देहीको भैरहवामा बिहीबार सम्पन्न कार्यक्रममा तीनै तहका निकायहरूले संघीयता कार्यान्वयनका लागि गर्न बाँकी कामहरूको पहिचान र निक्यौल कसरी गर्ने भन्ने बारेमा छलफल भएको थियो। संघीयता कार्यान्वयनमा देखिएका उपलब्धिहरू, बाँकी रहेका कामहरूलाई कसरी सम्पन्न गर्ने, आगामी कार्यदिशा कसरी बनाउने लगायतका विषयमा छलफल भएको मन्त्रालयका सह–सचिव सुमन दाहालले जानकारी दिए।
संघीयता कार्यान्वयनका क्रममा देखिएका भोगाइहरूलाई संकलन गर्ने र तिनमा रहेका सवालहरूमा निखार ल्याउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सहभागीहरूले प्रशासनिक संघीयता र कर्मचारी प्रशासनका विषयमा छलफल गरे। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव विनोद प्रकाश सिंहको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्रालयको टिम, लुम्बिनी प्रदेशका सचिवहरू, प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो।