काठमाडौँ– सरकारले आगामी आर्थिक वर्ष (आव) २०८१–८२ को बजेटमा शान्ति कोषका लागि रकम विनियोजन गर्ने भएको छ।
अर्थमन्त्री वर्षमान पुनले यसबारे बिहीबार जानकारी गराएका हुन्। स्वीस राजदूत डेनिएल मेउलीसँगको भेटमा अर्थमन्त्री पुनले आगामी आवमा संक्रमणकालीन न्यायसम्बन्धी बाँकी काम टुङ्गो लाग्ने जानकारी पनि दिए।
आफू १५ वर्षभन्दा अघिदेखि नै संक्रमणकालीन न्यायसम्बन्धी काममा संलग्न रहेको विषयमा अन्तर्राष्ट्रिय समुदायसमेत जानकार रहेको उनको भनाइ छ।
बजेटमा आफूले संक्रमणकालीन न्यायसँगै पीडितका लागि उपलब्ध गराइने परिपूरणका लागि शान्ति कोषको व्यवस्था गर्न लागेको समेत उनले जानकारी गराए। त्यसमा सहयोग गर्न मेउलीमार्फत स्वीस सरकारलाई आग्रह उनले गरे।
‘हामीले अमेरिका, बेलायतसहित विभिन्न मुलुकसँग सहयोगको प्रस्ताव राखेका छौँ,’ उनले भने, ‘सबैतिरबाट सकारात्मक प्रतिक्रिया आएको छ। स्वीस सरकारका तर्फबाट पनि यसमा महत्त्वपूर्ण सहयोग हुनेछ भन्ने अपेक्षा हामीले लिएका छौँ।