काठमाडौँ– नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देश बरबादीतर्फ जान लागेकाले सत्ता समीकरण फेरबदल गरेको बताएका छन। आज (मंगलबार) संसदीय दलको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले सरकारमा जान हतार नभएर गठबन्धन नभत्काएको दाबी समेत गरे।
‘गठबन्धन नफेरेकाले प्राप्त उपलब्धीहरूलाई समाप्त पार्ने क्रियाकलाप भए। त्यसको विभत्सरुप गएको सरकारमा देखियो। त्यसैकारण अहिलेको सरकार बनाएको हो। हामीले सरकारमा जाने हतारोमा भएको होइन। यसअघि यसै ठाउँमा बसेर मैले भनेको थिएँ, हामीलाई सरकारमा जाने कुनै हतारो छैन। तर देशको बरबादी भएको टुलुटुलु हेरेर बस्न सकिएन। बाँकी चार वर्ष यसै गरी चल्न दिने मैले त्यतिबेलै दिइँदैन भनेको थिएँ। यो गठबन्धन खरानीको डल्लो हो, त्यो गठबन्धन भत्किन्छ । सुख्खा भएपनि फुट्छ भिज्यो भनेपनि फुट्ट। गठबन्धनमा हुने वालाहरुको उन्माद थियो। त्यही उन्माद अहिले सकिएको हो’, उनले भने।
यस्तै ओलीले एमालेका कार्यक्षमातासँग त्रसित तत्वहरूले यी कुराहरू भन्न नचाहने हुँदा गलत व्याख्या गरिरहेको बताए।
‘देश असहज स्थितिमा पुग्यो। राष्ट्रको सम्प्रभुता, सार्वभौम सत्ता कमजोर भयो। हाम्रो स्वाधीनता हाम्रो स्वतन्त्रता कमजोर भयो। उपयोग गर्नै नसक्ने खालको भयो। हामीले मित्रता गर्न खोज्दा खोज्दै आनीबानी बिग्रेला भन्ने डर, कमजोर भएर लत्रिने, सहने बोल्न नसक्ने कुराहरुले मित्रहरूको पनि आनीबानी बिग्रेला भन्ने डर भयो’, ओलीले भने, ‘विकास सुशासन, भ्रष्टाचार नियन्त्रण, तस्करी नियन्त्रण यी सबै कुरा असम्भव जस्तै भयो। जनतालाई दिनुपर्ने सेवा सुविधा जे सरकारले उपलब्ध गराउनुपर्छ। त्यो कुरा भएन। जनता अलपत्र परे। जनताले न्याय पाएन। आरती साहकी आमा अहिले पनि तड्पिएर धर्नामा छन्। राज्य जवाफ दिँदैन। यस्तो स्थितिमा पुगेको देशलाई सरकार परिवर्तन हुने बित्तिकै कति जनताले राहत पाएका छन्।