काठमाडौँ– सत्ता साझेदार प्रमुख तीन दलका शीर्ष नेताबिचको छलफल सकिएको छ। छलफल सकेर प्रधानमन्त्री प्रचण्ड नयाँ बानेश्वरबाट बाहिरिएका छन्। छलफलमा के सहमति भयो भन्नेबारे नेताहरूले बताइसकेका छैनन्।
राष्ट्रिय सभा अध्यक्षका मतदान हुनुभन्दा केहीबेर अघि प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच छलफल भएको हो।
नेकपा(एकीकृत समाजवादी)ले पार्टीले अघि सारेका मागहरूमा लिखित सहमति जनाएमात्रै प्रधानमन्त्रीलाई विश्वासको मत र राष्ट्रिय सभा अध्यक्ष पदमा माओवादी उम्मेदवारलाई मत दिने चेतावनी दिएपछि सत्ता साझेदार तीन दलका शीर्ष नेताबिच भेटवार्ता भएको हो।
एकीकृत समाजवादीको हिजो सोमबार बसेको संसदीय दलको बैठकले मागबारे सहमति गर्न मंगलबार ११ बजेसम्मको अल्टिमेटम दिएको थियो। आज ११ बजे राष्ट्रिय सभा अध्यक्षका लागि मतदान हुँदै छ।