प्रचण्डलाई सिटौलाले भने: यो धोकाधडी सजिलै जान्छ नभन्ठान्नुहोला - Chaitanya News
  • 2026-07-10
  • 19:48:26
  • शुक्रबार,आषाढ २६, २०८३
  • प्रचण्डलाई सिटौलाले भने: यो धोकाधडी सजिलै जान्छ नभन्ठान्नुहोला

    प्रचण्डलाई सिटौलाले भने: यो धोकाधडी सजिलै जान्छ नभन्ठान्नुहोला

    काठमाडौँ– नेपाली कांग्रेसका नेताहरुले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्। आज (आइतबार)विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेस महामन्त्री गगन थापा, कांग्रेस राष्ट्रियसभा दलको नेता कृष्णप्रसाद सिटौला र कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन्।

    कांग्रेस महामन्त्री थापाका अनुसार प्रधानमन्त्री प्रचण्डसँगको करिब आधा घण्टाको भेटवार्ताका क्रममा सिटौलाले आफ्नो कुरा राखेका थिए। ‘आज हामी तपाईंलाई प्रधानमन्त्रीको रूपमा भेट्न आएको होइन। विगतको गठबन्धनमा हरेका एउटा दलको अध्यक्षसँग भेट्न आएका हौँ,’ सिटौलाले भने, ‘नेपाली कांग्रेसलाई त तपाईंले धोका दिनुभयो दिनुभयो। व्यक्तिगत रूपमा मलाई पनि धोका दिनुभयो।

    सिटौलाले राष्ट्रियसभा अध्यक्षमा आफूलाई के गर्नुहुन्छ भनेर प्रश्न गरेका थिए। ‘म राष्ट्रियसभा सदस्य हुने लाइनमा थिइनँ। तपाईंले नै नेपाली कांग्रेसका नेताहरूसँग कृष्ण सिटौलाजी राष्ट्रियसभा अध्यक्ष हुने हो भने हामीले छोड्न सकिन्छ भन्नुभयो,’ उनले भने, ‘शान्ति प्रक्रियामा भूमिका खेलेर आउनु भएको उहाँ आउँदा ठिक छ भनेर भनेपछि नेपाली कांग्रेसले मलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। अब के गर्नु हुन्छ रु अहिले मलाई तपाईले धोका दिन मिल्छ?

    प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग सैद्धान्तिक मतभेद देखिएपछि गठबन्धन फेर्नुपरेको जवाफ दिएका थिए। फागुन १७ मा आफूसँग किन झुट बोलेको भन्दै सिटौलालाले प्रधानमन्त्री प्रचण्डलाई प्रश्न गरेका थिए।

    ‘तपाई चार–पाँच महिनादेखि ओलीसँग कुरा भइराखेको भन्नुहुन्छ। मैले फागुन १७ गते आएर बाहिर हल्ला यस्तो छ नि भन्दा तपाई होइन होइन भन्नुहुन्छ। तपाईले किन झुट बोल्नु भएको? गठबन्धनका दलसँग किन छलफल गर्नु भएन?’ उनको प्रश्न थियो।

    सिटौलाले गिरिराजप्रसाद कोइरालालाई राष्ट्रपति बनाउन सहयोग नगरेकोमा पश्चात्ताप गरिरहेको भन्दै भोलि पनि त्यो दिन आउने बताएका थिए। ‘नेपाली कांग्रेस र मलाई दिएको यो धोकाधढी त्यति सजिलै जान्छ नभन्ठान्नुहोला,’ उनले भने, ‘तपाईं पछुताउनुपर्छ। सिटौलाले आफ्नो कुरा राखेपछि कांग्रेस नेताहरू बालुवाटारबाट बाहिरिएका थिए।