काठमाडौँ– राष्ट्रिय सभा अध्यक्षको निर्वाचन सार्ने काँग्रेसको प्रस्ताव अस्वीकृत भएको छ। फागुन २९ गतेका लागि तय भएको निर्वाचन सार्ने प्रस्ताव अस्वीकृत भएको हो।
आइतबार बिहान संसद भवन नयाँ बानेश्वमा बसेको राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलहरूको (सर्वदलीय) बैठकमा राष्ट्रिय सभामा काँग्रेसको संसदीय दलको नेता कृष्ण सिटौलाले केही दिन अध्यक्षको निर्वाचन सार्ने प्रस्ताव गरेका थिए। अन्य दलहरूले नमानेपछि तोकिएकै मिति फागुन २९ गते अध्यक्षको निर्वाचन हुने भएको छ।
यसअघि राष्ट्रिय सभाको कार्य व्यवस्था परामर्श समितिको बैठकले स्वीकृत गरेको कार्यतालिकामा फागुन २७ गते राष्ट्रिय सभाको अध्यक्षको निर्वाचनको दिन र समय निर्धारण गर्ने र २९ गते निर्वाचन गर्ने उल्लेख छ। यही अनुसार जाने निर्णय भएको नेताहरुले जानकारी दिएका छन्।