माओवादीले ६ वटा मन्त्रालयमा दाबी गर्ने, गृह नछाड्न पार्टीभित्रै दबाब - Chaitanya News
  • 2026-07-13
  • 11:59:15
  • सोमबार,आषाढ २९, २०८३
  • माओवादीले ६ वटा मन्त्रालयमा दाबी गर्ने, गृह नछाड्न पार्टीभित्रै दबाब

    माओवादीले ६ वटा मन्त्रालयमा दाबी गर्ने, गृह नछाड्न पार्टीभित्रै दबाब

    काठमाडौँ– नयाँ गठबन्धनमा नेकपा माओवादी केन्द्रले ६ वटा मन्त्रालयमा दाबी गर्ने भएको छ। त्यस्तै, ६ वटा मन्त्रालयमा गृह मन्त्रालय नछाड्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि पार्टीभित्रै दबाब परेको एक नेताले बताएका हुन्।

    सुशासनको पक्षमा काम गर्न माओवादीले गृह छाड्न नहुने नेताहरूले सुझाव दिएका थिए। तथापि गृहमा रास्वपाले दाबी छोडेको छैन। यता अर्थ मन्त्रालय लिएर गृहमन्त्री छाड्न एमाले तयार भएको ती नेताले बताए।

    यस्तै सरकारको नेतृत्व गरेको दल भएकाले सञ्चार मन्त्रालय आफूले पाउनुपर्ने दाबी गरेको छ। त्यस्तै ऊर्जा मन्त्रालयमा पनि माओवादीको दाबी यथावत् रहेको छ। ‘हामीले ६ वटा मन्त्रालयमा दाबी गरेका छौँ। तर कसले कति पाउने भन्ने निश्चित भइसकेको छैन। कुनै हालतमा गृह छाड्न नछाड्न नेतृत्वलाई दबाब दिएका छौँ। यसमा रविजीले मानिरहनु भएको छैन। गृह हामीले पाउने भए अर्थ एमालेले लिनेछ। यसबाहेक सञ्चार, ऊर्जामा पनि दाबी यथावत् छ। अन्तिम समयसम्म सरकारमा जाने पार्टी कति हुन्छन्, त्यसमा पनि भरपर्छ’, रातोपाटीसँग ती नेताले भने। गृह पाएमा वर्षमान पुन र नारायणकाजी श्रेष्ठ मध्ये को जाने भन्नेमा हानथाप रहेको छ।

    सरकारमा जाने विषयमा पुरानालाई दोहोर्‍याउन नहुने पक्षमा नेताहरूले बढी जोड दिएका छन्। केही नेताहरूबाट भने नयाँ वा पुराना भन्दा पनि कार्य क्षमताको हिसाबले सरकार पठाउनुपर्ने मत आएको सचिव दीनानाथ शर्माले बताएका छन्।

    सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले सरकारमा जाने मन्त्री छनोट गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो। सरकारमा कसलाई पठाउने भन्ने विषयमा प्रचण्डले पदाधिकारी तहका नेताहरूसँग अनौपचारिक छलफल जारी राखेका छन्।

    ‘सरकारमा जाने विषयमा पुरानालाई दोहोर्‍याउन हुँदैन भन्ने मत बढी छ। केही साथीहरूले नयाँ पुरानाको मापदण्ड बनाउनुभन्दा पनि अहिलेको परिस्थितिमा काम गर्न सक्ने नेताहरूलाई पठाउनुपर्छ भन्ने पनि मत आएको छ। यी सबै विषयलाई हेरेर क्षेत्रीय, जातीय सन्तुलन हुने गरी अध्यक्षले निर्णय लिनुहुन्छ। मन्त्री छान्ने अधिकार हामीले अध्यक्षलाई दिएका छौँ,’ शर्माले भने।