त्रिकोणात्मक टी–२०: नेपाल नेदरल्यान्ड्ससँग ४ विकेटले हार्‍यो - Chaitanya News
  • 2026-06-07
  • 12:36:29
  • आइतबार,जेठ २४, २०८३
  • त्रिकोणात्मक टी–२०: नेपाल नेदरल्यान्ड्ससँग ४ विकेटले हार्‍यो

    त्रिकोणात्मक टी–२०: नेपाल नेदरल्यान्ड्ससँग ४ विकेटले हार्‍यो

    काठमाडौँ– त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको मंगलबार खेलिएको फाइनल खेलमा घरेलु टोली नेपाल पराजित भएको छ। कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको खेलमा नेदरल्यान्ड्सले नेपाललाई चार विकेटले हराएको हो।

    कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ८४ रन बनाएको थियो। जवाफी ब्याटिङमा ओर्लिएको नेदरल्यान्ड्सले १९।३ ओभरमा ६ विकेट गुमाएर एक सय ८९ रन बनाउँदै विजयलक्ष्य पार गर्‍यो।

    नेदरल्यान्ड्सको जितमा ओपनर ब्याट्सम्यान माइकल लेभिटले ५४ रनको योगदान गरे। डच टोलीका लागि साइब्रान्डले पनि ४८ रनको योगदान गरे। बिक्रमजित सिंहले २९ रन बनाए भने म्याक्स ओ’डडले पनि २२ रन बटुले।

    टिम भान डर गुटेनले पनि टोलीको खातामा अविजित २१ रन थपे। उनले पाँच बलमा दुई छक्का र दुई चौका प्रहार गरे। रेलोफ भान डर मर्वे दुई रनमा अविजित रहे। नेदरल्यान्ड्सले अतिरिक्त रुपमा नौ रन पाएको थियो।

    नेपाली टोलीका बलर कुलश मल्ल एक्लैले चार विकेट लिए। उनले तीन ओभरमा ३३ रन खर्चिएका थिए। दीपेन्द्रसिंह ऐरी र अविनाष बोहराले पनि एक–एक विकेट हात पारे। प्रारम्भमा नेपाली टोलीका बलरहरु खासै प्रभावकारी देखिएका थिएनन्। त्यसैले नेदरल्यान्ड्सका ओपनर ब्याट्सम्यानले ८३ रनको साझेदारी गरेका थिए।

    पहिले ब्याटिङ गरेको नेपालका लागि ओपनर ब्याट्सम्यान आसिफ शेखले ४७ रनको योगदान गरेका थिए। आसिफ र कुशल भुर्तेलले ओपनिङ विकेटका लागि २३ रनको साझेदारी गरेका थिए। कुशल भुर्तेल २० रन बनाउँदै आउट भएका थिए।

    कप्तान रोहित पौडेलले २५ रन बनाए भने चौथो नम्बरका ब्याट्सम्यान गुलसन झाले टोलीका लागि ३४ रनको योगदान गरेका थिए। कुशल मल्लले पनि टोलीको खातामा २६ रन थपेका थिए । डच टोलीका बलर फ्रेड क्लासिन, टिम भान डर गुटेन, माइकल लेभिट र साइब्रान्डले दुई–दुई विकेट लिए। नेपालले अतिरिक्त रुपमा १० रन पाएको थियो।