निमित्त सचिवले गरेको प्रमुख प्रशासकीय अधिकृत तथा उपसचिवहरूको सरुवा बदर, ९ जनाको पुनः सरुवा - Chaitanya News
  • 2026-06-07
  • 20:03:30
  • आइतबार,जेठ २४, २०८३
  • निमित्त सचिवले गरेको प्रमुख प्रशासकीय अधिकृत तथा उपसचिवहरूको सरुवा बदर, ९ जनाको पुनः सरुवा

    निमित्त सचिवले गरेको प्रमुख प्रशासकीय अधिकृत तथा उपसचिवहरूको सरुवा बदर, ९ जनाको पुनः सरुवा

    काठमाडौँ– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका निमित्त सचिवले गरेका दर्जन बढी प्रमुख प्रशासकीय अधिकृत तथा उपसचिवहरूको सरुवा एकमुष्ट रूपमा बदर गरिएको छ।

    आज (आइतबार) मन्त्रालयका सचिव विनोद प्रकाश सिंहले निमित्त सचिव कमल भट्टराईले गरेको ‘निमित्त सचिवस्तर’को सरुवा बदर गरेका हुन्। जसमध्ये ९ जनाको पुनः सरुवा गरेका छन्।

    यस मन्त्रालय (निमित्त सचिवस्तर) को मिति २०८०–११–०६को निर्णयअनुसार स्थानीय सरकार सञ्चालन ऐन, २०८४ को उपदफा(४) बमोजिम यस मन्त्रालयको अतिरिक्त समूहमा दरबन्दी कायम रहने गरी ‘।खटाइएकोमा उक्त निर्णय यस मन्त्रालय(सचिवस्तर)को मिति २०८०–११–१७ को निर्णयअनुसार बदर गरिएको ब्यहोरा अनुरोध छ’ निमित्त सचिवले सरुवा गरेका प्रमुख प्रशासकीय अधिकृत तथा उपसचिवलाई पठाइएको पत्रमा भनिएको छ।

    त्यससँगै मन्त्रीले गरिसकेको सरुवा बदर गर्न नमानेसँगै पुनः सचिवले ९ जना प्रमुख प्रशासकीय अधिकृतको यसअघि गरिएकै अनुसार सरुवा गरेका छन् जसमध्ये एक जना प्रमुख प्रशासकीय अधिकृतको सच्याइएको छ। यसअघि निमित्त सचिवले गरिएअनुसार पुनः सरुवा गरिएका उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतहरूमा बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद न्यौपानेलाई सुन्दरहरैचा नगरपालिकाकै प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरिएको छ भने सुन्दर हरैचाका प्रमुख प्रशासकीय अधिकृत अम्बिका प्रसाद चौलागाईलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, इनरुवा नगरपालिका सुनसरीका अग्नि प्रसाद अधिकारीलाई मेचीनगर नगरपालिका, झापा, तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीलाई सैनामैना नगरपालिका, रुपन्देही र त्यहाँका जनक थापालाई सिद्धार्थ नगरपालिका रुपन्देही तथा सिद्धार्थनगर नगरपालिका, रुपन्देहीका नवराज पौडेललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ। त्यस्तै उर्लाबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन निरौलालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, कोल्हवी नगरपालिका बाराका प्रमुख प्रशासकीय अधिकृत वासुदेव खतिवडालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बागमती प्रदेश मै सरुवा गरिएको छ भने दुहवी नगरपालिका, सुनसरीका प्रमुख प्रशासकीय अधिकृतलाई यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरिएकोमा अहिले सच्याएर उर्लाबारी नगरपालिका मोरङमा सरुवा गरिएको छ।

    यसबाहेकका अन्य पाँच जनाको सरुवा रद्द गरिएको छ। यसअघि गुपचुपमा गर्न खोजिएको गरिएको सरुवाबारे प्रशासन डटकमले समाचार प्रकाशित गरेको थियो।

    सचिव सिंह मातृ शोकमा रहेका बेला गरिएको उक्त सरुवाबारे जिज्ञासा राख्दा निमित्त सचिव कमल भट्टराईले सरुवा नै नभएको जिकिर गरेका थिए। सचिव नभएको मौका छोपी मन्त्री अनिता देवी साहले निमित्त सचिवमार्फत सरुवा गराउनुको मुख्य उद्देश्य नै इन्ट्रेष्ट भएको कुरा घाम जतिकै छर्लङ्ग छ तर सचिवको लाइनमा रहेका वरिष्ठ सहसचिवले सोही इन्ट्रेष्ट पुरा गर्नुलाई भने निजामती वृत्तमा आश्चर्यका रूपमा लिएका छन्। यो मात्र होइन, यसअघि पनि सचिव विदेश गएको मौकामा उपत्यकाका महत्त्वपूर्ण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा गरिएको थियो।

    त्यसबेला पनि ठुलै आर्थिक रकम लेनदेन भएको चर्चा चले पनि पछि त्यसै सेलाएको थियो भने अहिलेको सरुवामा पनि सोही लेनदेनको पुनरावृत्ति गरिएको मन्त्रालय स्रोतको दाबी छ।

    कर्मचारीको अभिभावक मन्त्रालयका रूपमा रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पछिल्लो समय सरुवामा मात्रै केन्द्रित भएको देखिन्छ। सामान्य खरिदार(सुब्बादेखि सहसचिवसम्मको सरुवामा विशेष ‘इन्टे«ष्ट’ देखिँदै आइएको छ। मन्त्रालयले मौका छोपी गर्ने उपसचिव भन्दा तलका कर्मचारीको सरुवा र क्याबिनेटका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने सहसचिवकै सरुवा महिनौँसम्म रुमल्लिनुको पछाडिको कारण अरू केही नभई यही ‘इन्टे«ष्ट’ नै भएको एक सचिव बताउँछन्।

    जहाँ जसले जसरी जे जति सक्यो त्यतिमै चलिरहेको खेतीबारे सिंहदरवार मात्रै होइन, आम कर्मचारी तथा कतिपय राजनीतिज्ञहरूसमेत जानकार छन् तर तै चुप मै चुप बसेको देख्दा लाग्छ, सुशासन भन्न र भाषणका लागि मात्रै हो,व्यवहारमा उतार्नु पर्दैन। र, यो निमुखा तथा इमानदार कर्मचारीका लागि मात्रै लागू हुन्छ।