काठमाडौँ– नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्माओलीले वर्तमान सरकारले शक्ति पृथकीकरणको सिद्धान्त बुझ्न नसकेको बताएका छन्। आज (आइतवार) संसद् भवनमा पार्टीका सांसदहरुलाई प्रशिक्षण दिँदै उनले वर्तमान सरकार अलोकतान्त्रिक र शक्ति पृथकीकरणको सिद्धान्त नबुझेको सरकार रहेको बताएका हुन्। ।
यस्तै उनले अर्थमन्त्री डा.प्रकाशशरण महतमा अर्थमन्त्रीले नियम कानून, मर्यादा, प्रचलन मान्नै नपर्ने भन्ने घमण्ड देखिएको समेत बताए। उनले देशको अर्थतन्त्र ओरालो लगाएको अरोप लगाउँदै अर्थमन्त्रीले ०४८ सालमै असफल भइसकेका सिद्धान्त दोहोर्याउन खोजेको बताए।
‘यस्तो बेहालको अलोकतान्त्रिक र शक्ति पृथकीकरणको वास्तवमा सिद्धान्तै नबुझेको। अर्थमन्त्रीलाई के लागेको छ भने अर्थमन्त्री यस्तो डिक्टेटर हो, जसले नियम कानून, मर्यादा, प्रचलन आदि केही हेर्नुपर्दैन भन्ने लागेको छ। त्यो देखिन्छ। न अर्थमन्त्री कसैसँग परामर्श गर्नुहुन्छ, न केही गर्नुहुन्छ’ ओलीले भने, ‘अर्थशास्त्रमा पिएचडी गर्नुभएको भन्ने सुनेको, कुन अर्थशास्त्रमा कहाँबाट पिएचडी गर्नुभएछ? अचम्म लाग्छ। देश ओरालो लगाउने, असफल भएका थोत्रा सिद्धान्त बोकेर, ०४८, ०५० सालमै असफल भइसकेको सिद्धान्तहरु फेरि दोहोर्याउन खोजिएको छ। यो सरकार बन्नु नै नहुने सरकार थियो।
अध्यक्ष ओलीले वर्तमान सरकार बन्न र चल्नै नहुने सरकार रहेको बताए। उनले सरकार कसैले बनाइदिएर कसैले टिकाइदिएको बताए।