भूपू गोर्खा सैनिकका विषयमा बेलायतसँग नेपालको अडान कायमै - Chaitanya News
  • 2026-11-18
  • 09:41:34
  • बुधबार,मंसिर ०३, २०८३
  • भूपू गोर्खा सैनिकका विषयमा बेलायतसँग नेपालको अडान कायमै

    भूपू गोर्खा सैनिकका विषयमा बेलायतसँग नेपालको अडान कायमै

    काठमाडौँ– परराष्ट्रमन्त्री एनपी साउदले भूतपूर्व गोर्खा सैनिकलाई बेलायती सेनाको समान पेन्सनलगायतका सुविधा दिनुपर्नेमा नेपाल सरकारको अडान कायम रहेको बताएका छन्।आज (आइतबार) प्रतिनिधि सभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले नेपालले त्यहाँको सरकारलाई स्पष्टसँग माग राखेको समेत बताए।

    साउदले भूपू गोर्खा सैनिकको न्याय र समानताका माग सम्बोधनका लागि बेलायत सरकारलाई दबाब दिइरहेको र वार्ता भइरहेको जानकारी दिए। पुरानो मुद्दा छाड्न मिल्ने अवस्था छैन। नेपाल सरकार पूर्व गोर्खाहरूको न्यायोचित माग पूरा होस् भनेर लगातार मुद्दा उठाइरहेको छ, ‘उनले भने, ‘निरन्तर दबाब हामीले कायम राखिराख्नुपर्ने परिस्थिति छ। यो दबाब कायम राखिराख्छौ। यसका लागि तीन चरणमा वार्ता भइरहेको छ। मार्चमा फेरि वार्ता हुन्छ, सरकारको अडान कायमै छ।

    परराष्ट्रमन्त्री साउदले केही दिन पहिले बेलायतका विदेश राज्यमन्त्री नेपाल आउँदा पनि भूपू गोर्खाका विषयमा नेपालले आफ्नो पक्ष स्पष्ट राखेको बताए। नेपाल र बेलायतबीचको सम्बन्धबारे भूपू गोर्खा सैनिक पनि रहेको कुरा बेलायती विदेशराज्यमन्त्रीलाई भनेको मन्त्री साउदले समितिलाई जानकारी दिए। ‘भूपू गोर्खाहरूलाई आर्थिक र सुविधाका रूपमा मात्रै मूल्यांकन नभई ब्रिटिस सरकारले अन्य सुविधाका रूपमा पनि मूल्यांकन गर्नुपर्छ भनेका छौँ, ‘उनले भने।

    भूपू गोर्खाका माग पूरा गर्नेबारे नेपाल सरकारले बेलायती पक्षसँग निरन्तर छलफल गरिराखेको मन्त्री साउदको भनाइ थियो। भूपू गोर्खा सैनिकको समान पेन्सन तथा सुविधाका विषयमा अदालती प्रक्रिया जारी रहेको र आन्दोलन पनि चलिरहेको उनको भनाइ थियो। सन् २००७ भन्दा पहिले र सन् १९९७ पछि सेवा निवृत्त भएका गोर्खा सैनिकहरूको सम्बन्धमा मात्रै पेन्सनलगायतका समस्या रहेको मन्त्री साउदको भनाइ थियो।