कर्मचारीले निर्णय नगर्दा हुने क्षतिको हिसाब गर्ने बेला भयो : प्रधानमन्त्री प्रचण्ड - Chaitanya News
  • 2026-07-10
  • 23:22:04
  • शुक्रबार,आषाढ २६, २०८३
  • कर्मचारीले निर्णय नगर्दा हुने क्षतिको हिसाब गर्ने बेला भयो : प्रधानमन्त्री प्रचण्ड

    कर्मचारीले निर्णय नगर्दा हुने क्षतिको हिसाब गर्ने बेला भयो : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समयमै निर्णय नगर्ने, निर्णय पन्छाउने र अन्तरनिकाय समन्वयमा आवश्यक पहल नलिने प्रवृत्ति भएको अहिलेको सबैभन्दा ठूलो चुनौती बनेको बताएका छन्।

    चालु आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयनको ७ महिने समीक्षा बैठकमा प्रधानमन्त्री दाहालले प्रचलित ऐन, नियमको परिधिभित्र रही निर्णय गर्न कसैले हिचकिचाउनु नहुने र नपर्ने बताएका हुन्।

    ‘कुनै पनि सार्वजनिक पदाधिकारीले असल नियतले गरेको निर्णयको बनावट गर्न र त्यस्तो कर्मचारीको संरक्षण गर्न म सदैव प्रतिबद्ध छु,’ उनले भने। पछिल्लो समयमा प्रशासनयन्त्रमा काम गरे कारबाही भोग्नुपर्ने तर, कामै नगरे बच्न सकिने मनशाय बढ्दै गएको उनको निष्कर्ष थियो।

    ‘सार्वजनिक अधिकारीले कुनै निर्णय नलिएकै र पन्छाएकै कारणबाट मुलूकलाई कति हानि नोक्सानी वा क्षति हुन सक्छ भन्ने मूल्यांकन गर्ने प्रणाली स्थापित हुन जरुरी छ,’ प्रधानमन्त्रीले भने,‘अब यसको गम्भीर समीक्षा गर्नुपर्ने बेला भइसकेको छ। यसको गम्भीर असर अन्ततः हाम्रा उपलब्धि र राजनीतिक व्यवस्थाको रक्षा र विकासमा पर्छ भन्ने हेक्का राख्नु जरुरी छ।’