काठमाडौँ– कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला बिहीबारको खेलमा नेदरल्यान्ड्सले नामिबियालाई जितका लागि दुई सय ४८ रनको लक्ष्य दिएको छ। टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेदरल्यान्ड्सले निर्धारित ओभरमा पाँच विकेट गुमाएर दुई सय ४७ रन बनाएको हो।
जारी शृङ्खलामा कुनै पनि टोलीले बनाएको यो सबैभन्दा ठुलो योगफल हो। नेदरल्यान्ड्सका लागि ओपनर ब्याट्सम्यान माइकल लेभिटले उत्कृष्ट शतकीय पाली खेले। उनले एक सय ३५ रन बनाए। जारी शृङ्खलामा कुनै पनि ब्याट्सम्यानले बनाएको यो सर्वाधिक रन हो।
आक्रामक रुपमा प्रस्तुत भएका उनले केवल ६२ बलको सामना गरी १० छक्का र ११ चौकाका पनि हिर्काए। तेस्रो नम्बरका ब्याट्सम्यान साइब्रान्डले पनि अर्धशतकी पाली खेले। उनले केवल ४० बलको सामना गरी पाँच छक्का र सात चौका हिर्काए। तेजा निदामनुरुले पनि टोलीको खातामा १८ रन थपे। नामिबियाका बलर रुबेन ट्रम्पलम्यानले दुई विकेट लिए।