को हुन् भारतले अन्तरिक्षमा पठाउन लागेको चार अन्तरिक्ष यात्री? - Chaitanya News
  • 2026-11-18
  • 10:10:52
  • बुधबार,मंसिर ०३, २०८३
  • को हुन् भारतले अन्तरिक्षमा पठाउन लागेको चार अन्तरिक्ष यात्री?

    को हुन् भारतले अन्तरिक्षमा पठाउन लागेको चार अन्तरिक्ष यात्री?

    नयाँ दिल्ली– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो)को गगनयानमा अन्तरिक्षमा जाने चार अन्तरिक्ष यात्रीको नाम घोषणा गरेका छन्। यो अन्तरिक्ष मिसन भारतले पहिलो पटक मानव पठाउन लागेको छ।

    केरलाको तिरुवनन्तपुरमस्थित विक्रम साराभाई स्पेस सेन्टरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री मोदीले यस मिसनमा जान लागेका चार अन्तरिक्ष यात्रीको नाम घोषण गरेका छन्। यी चार अन्तरिक्ष यात्रीहरू समूह क्याप्टेन प्रशान्त बालकृष्णन नायर, समूह क्याप्टेन अजित कृष्णन, समूह क्याप्टेन अंगद प्रताप र विंग कमाण्डर शुभांशु शुक्ला हुन्। यिनीहरु चारै जना भारतीय वायुसेनामा कार्यरत छन्।

    ‘यी चार नाम वा व्यक्ति होइनन्। १४० करोड आकांक्षालाई अन्तरिक्षमा लैजाने शक्ति हो। ४० वर्षपछि कोही भारतीय अन्तरिक्षमा जान लागेका छन्। यसपटक समय हाम्रो हो, काउन्टडाउन र रकेट पनि हाम्र्रै हुनेछ,’ मोदीले भने। यी चार अन्तरिक्ष यात्रीहरू बेंगलुरुको एस्ट्रोनट ट्रेनिङ सेन्टरमा प्रशिक्षण लिइरहेका छन्। यी अन्तरिक्षयात्रीहरूले रुसमा एक वर्ष लामो तालिम लिएका थिए। इसरोले सन् २०२४ देखि सन् २०२५ को बिचमा यो मिसन लञ्च गर्दैछ। एजेन्सी