काठमाडौँ– गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी समायोजनको गृहकार्य अगाडि बढिसकेको बताएका छन्।
‘गृह मन्त्रालयले समायोजन समितिको घोषणा गरिसकेको छ। त्यो समितिले अहिले गृहकार्य गरिरहेको छ(कुन प्रक्रियालाई कति समय लाग्छ? हामीले प्रक्रियामा लाग्ने समय बाहेक एक दिन पनि बढी समय लान चाहन्नौ, समायोजनमा गयौँ’ सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै गृहमन्त्री श्रेष्ठले भने।
कतिपयले आफूलाई किन प्रहरी समायोजन प्रक्रिया अगाडि बढाएको भनी प्रश्न सोधिरहेको उनले सुनाए। ‘‘यो समायोजन प्रक्रिया अगाडि किन बढाउन लागेको होला? भन्नेहरू पनि छन्। तर मेरो प्रष्ट उत्तर छ(कि त संघीयता फिर्ता गर्नुपर्यो नत्र संघीयतालाई कायम राख्ने कार्यलाई अगाडि बढाउने हो भने प्रहरी समायोजन नगरी हुँदैन।
प्रहरी समायोजनका सन्दर्भमा सरकार प्रष्ट र कुनै अलमलमा नरहेको भन्दै उनले आवश्यक ऐन संशोधनको प्रक्रिया पनि अगाडि बढेको बताए।
गृहमन्त्री श्रेष्ठका अनुसार नेपाल प्रहरी ऐन संशोधन सम्बन्धी विधेयक संसदमा दर्ता हुने प्रक्रियामा छ।