आजदेखि दादुरा रुबेलाविरुद्धको खोप अभियान देशभर सुरु भएको छ।
दादुरा, रुबेला खोप अभियानको कार्यक्रम फागुन १३ देखि चैत ७ गतेसम्म सञ्चालन हुने छ।
दादुरा रुबेला खोप अभियानमा ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकाहरूलाई यो खोप लगाइने छ। तराई मधेशका २१ जिल्ला र काठमाडौँ उपत्यकाका ३ जिल्लाहरूमा ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई लगाइने छ। बाँकी जिल्लाहरूमा भने ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकाहरूलाई लगाइनेछ।
रुकुमपश्चिम र जाजरकोटमा भने यो खोप अभियान सम्पन्न भइसकेको छ।
यसअघि सन् २०१८ मा दादुरा रोग नियन्त्रणमा आएको बताइए पनि सन् २०२३ मा यसले धेरै जिल्लाहरूमा प्रकोपको रूप लिएपछि सरकारले फेरि खोप अभियान चलाएको हो। अब सन् २०२६ भित्र दादुरा(रुबेला रोग निवारण गर्ने लक्ष्य सरकारले राखेको छ।
खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार ५७ लाख ८२ हजार ९९३ बालबालिकालाई यसपटक दादुरा र रुबेलाको खोप लगाइने छ। यो खोप नेपालभरका ४८ हजार ७९८ केन्द्रबाट लगाइने छ। नियमित खोप लगाउन छुटेका बालबालिकाहरूलाई यो अभियानमा समेट्ने लक्ष्य राखिएको छ।