झापामा दिउँसो २ बजेसम्म ५० प्रतिशत मत खस्यो - Chaitanya News
  • 2026-04-26
  • 14:09:52
  • आइतबार,बैशाख १३, २०८३
  • झापामा दिउँसो २ बजेसम्म ५० प्रतिशत मत खस्यो

    झापामा दिउँसो २ बजेसम्म ५० प्रतिशत मत खस्यो

    काठमाडौं– प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यका लागि जारी मतदानमा झापामा अहिलेसम्म ५० प्रतिशत मत खसेको छ। दिउँसो २ बजेसम्म ५० प्रतिशत मत खसेको निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिए।

    बिहानको समयमा कम मत खसे पनि दिउँसो मतदान स्थलमा भिड देखिएको उनले बताए। झापाका २८५ मतदान स्थलका ७६८ वटै मतदान केन्द्रमा मतदान भइरहेको छ। प्रतिनिधिसभातर्फ ५ र प्रदेश सभातर्फ १० वटा निर्वाचन क्षेत्र रहेको झापामा प्रतिनिधिसभातर्फ ९४ जना र प्रदेश सभातर्फ ९८ जना उम्मेदवार चुनावी मैदानमा छन्।

    ६ लाख ६३ हजार ३११ मतदाता रहेको झापामा यसपटक ७४ प्रतिशत मत खस्ने अनुमान गरिएको निर्वाचन कार्यालयले जनाएको छ। ‘यो हाम्रो वैज्ञानिक अनुमान हो। वैदेशिक रोजगारीबाट फर्किएकाको तथ्यांक, जिल्लाबाट बाहिरिएकाको तथ्यांकलाई हेरेर हामीले विश्लेषण गरेका हौँ,’ निर्वाचन कार्यालय झापाका प्रमुख नेपालले भने।