सल्यान — सल्यानमा दिउँसो २ बजेसम्म ३६ हजार ५ सय २० जनाले मतदान गरेका छन्। कूल मतदाता १ लाख ५७ हजार ७ सय १ मध्ये १८ हजार ७ सय ४६ पुरुष र १७ हजार ७ सय ७४ महिलाले मतदान गरेका हुन्।
जिल्लामा २ सय २ मतदान केन्द्र र १ सय १९ मतदानस्थल रहेकामा अहिलेसम्म कुल मतदाता संख्याको २३ प्रतिशत मात्र मतदान भएको मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमले बताए। उनका अनुसार जिल्लाको कारागारमा सञ्चालित अस्थायी मतदान केन्द्रमा भने मतदान सम्पन्न भइसकेको छ।
प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले सल्यानमा निर्वाचन शान्तिपूर्ण रुपमा भइरहेको बताएका छन्। छिमेकी जिल्लामा केही मतदानस्थलमा विवाद हुँदा मतदान रोकिएपनि सल्यानमा त्यस्तो समस्या नभएको र मतदान भइरहेको उनले जानकारी गराए।
उनका अनुसार जिल्लाका २ सय २ मतदान केन्द्र तथा १ सय १९ मतदान स्थलमा १ हजार ६ सय २३ कर्मचारी र १ हजार ९ सय ५० सुरक्षाकर्मी खटिएका छन्।
जिल्लामा १ लाख ५७ हजार मतदाता भएपनि मतदानमा मतादातको उत्साह भने धेरै कम देखिएको छ। कतिपय त मतदानमा समेत अनिच्छुक देखिएका छन।