काठमाडौँ– नेपाली कांग्रेसको बिहीबार सम्पन्न महासमिति बैठकमा इन्जिनियरको विषयले पनि प्रवेश पाएको छ। सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) बाट बैठकमा प्रतिनिधित्व गर्ने महासमिति सदस्य प्रकाश केसीले इन्जिनियरको तर्फबाट धारणा राखे।
जसअनुसार उनले इन्जिनियरहरको क्षमता अभिवृद्धिका लागि इन्जिनियरिङ स्टाफ कलेज स्थापना गर्नुपर्ने माग राखेका छन्।
यस्तै निजी तथा गैर सरकारी क्षेत्रमा कार्यरत इन्जिनियर तथा आर्किटेक्टहरूको न्यूनतम पारिश्रमिकमा एकरूपता कायम गर्न माग गरेका छन्। त्यसका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डलाई ध्यानमा राखी राज्यस्तरबाट नै न्युनतम पारिश्रमिक निर्धारण गर्नुपर्ने उनको भनाइ छ।
यस्तै योजना आयोग, अर्थ मन्त्रालय जस्ता महत्त्वपूर्ण निकायहरूमा अनिवार्य रूपमा इन्जिनियरकै नेतृत्वमा छुट्टै प्राविधिक शाखा स्थापना गर्नुपर्ने पनि उनको धारणा छ।
यस्तै स्थानीय सरकारका कार्यकारी अधिकृत इन्जिनियर राख्नुपर्ने, पार्टीका निकायहरूमा २० प्रतिशत पेसागत क्षेत्रबाट वैधानिक व्यवस्था गर्नुपर्नेलगायतका प्रस्ताव पनि उनले राखेका छन्।