काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाको बाँकी काम टुङ्गिएपछि जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको रूपमा फेरि मनाउन पाउने बताएका छन् ।
आज (शुक्रबार) २३ औँ मजदुर बलिदानी दिवस तथा पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताए। यस्तै उनले आफूले बिदा घोषणा गरेपनि अदालतले रोकेको सोत बताए।
उनले भने, ‘राज्यले शहीदहरूलाई राष्ट्रिय सम्मान दिएर जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस र बिदा पनि मैले गरेको थिएँ गत साल। सरकारकै क्यालेण्डरमा जनयुद्ध दिवस बिदा भनेर लेखिएको छ। तर, अदालतले शान्ति प्रक्रिया पूरै नटुङ्गिएको हुँदा यो दिवस मनाउँदाखेरि रोकेको छ। हामीले त्यो भनाइलाई केही कमेन्ट गरेको छैन। म त झन् प्रधानमन्त्री भएकाले त्यसमा कमेन्ट गर्न पनि अप्ठ्यारो हुन्छ। तर, हामीले त मनायौँ। सरकारको तर्फबाट एक पटक निर्णय भइसकेको छ।’