प्रतिनिधिसभा बैठक सुचारु ढंगले अघि बढाउन सबै दलका सचेतकसँग सभामुख घिमिरे छलफलमा - Chaitanya News
  • 2026-07-11
  • 02:05:03
  • शुक्रबार,आषाढ २६, २०८३
  • प्रतिनिधिसभा बैठक सुचारु ढंगले अघि बढाउन सबै दलका सचेतकसँग सभामुख घिमिरे छलफलमा

    प्रतिनिधिसभा बैठक सुचारु ढंगले अघि बढाउन सबै दलका सचेतकसँग सभामुख घिमिरे छलफलमा

    काठमाडौँ– प्रतिनिधिसभा बैठक सुचारु ढंगले अघि बढाउन सभामुख देवराज घिमिरेले विभिन्न दलका प्रमुख सचेतक र सचेतकसँग छलफल अघि बढाएका छन्। आज (शुक्रवार) प्रतिनिधिसभा सत्तापक्ष र विपक्षी दलका सांसदहरूको भनाभनका कारण प्रभावित भएपछि सभामुखले संवाद अघि बढाएका हुन्।

    बिहान ११ बजे बसेको बैठकमा दलका सांसदहरूबिच विवाद उत्पन्न भएपछि घिमिरेले १५ मिनेटका लागि भनेर बैठक स्थगित गरेको डेढ घण्टा बित्दा पनि बैठक सुरु हुन सकेको छैन। बैठक सहज रूपमा अघि बढाउनका लागि सभामुखको कार्यकक्षमा दलका प्रमुख सचेतक र सचेतकसँग सभामुखले छलफल गरिरहेको विज्ञ शेखर अधिकारीले जानकारी दिए।

    बैठकमा एमालेले गत पुस १३ गते बालकुमारीमा २ युवा प्रहरीको गोलीबाट मारिएको घटनामा भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको राजीनामा माग गरेको छ। साथै सो छानबिन प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरेको छ।

    यस्तै अख्तियारले बयान लिएका स्वास्थ्य मन्त्री मोहन बस्नेत र रामग्राम निजी कम्पनीलाई दिने प्रक्रियामा पर्यटन मन्त्री सुदन किरातीको संलग्नता रहेको भन्दै उनीहरूलाई पनि सरकारबाट हटाउन माग गर्दै आएको छ। प्रतिपक्षी दलले राखेको माग सरकारले सम्बोधन नगर्दा संसदमा गतिरोध उत्पन्न भएको छ।