काठमाडौँ– राष्ट्रसेवक सहकारी संस्था लिमिटेड हरूमा देखिएका समस्याहरूको समाधानका लागि आवश्यकता अनुसार एकीकरणको कार्य योजना पारित भएको छ।
काठमाडौँमा सम्पन्न राष्ट्रसेवक सहकारी संस्था लि।हरूको पाँचौँ राष्ट्रिय सहकारी भेलाले राष्ट्रसेवक सहकारी संस्था लि।हरूको सञ्चालनमा देखिएका समस्या, सुशासन, वित्तीय विश्लेषण र पृष्ठपोषण गर्दै आगामी दिनमा अवलम्बन गर्ने नीतिको रूपमा सहकारी संस्थाहरूको सबलीकरण तथा आवश्यकता अनुसार एकीकरणको कार्य योजना पारित गरेको हो।
राष्ट्रसेवक सहकारी संस्था लि।हरूलाई व्यवस्थित रूपमा सञ्चालन गर्न बचत वर्गीकरण, ऋण वर्गीकरण सहित वित्तीय तथा संस्थागत सुशासन र स्वः नियमनका मापदण्ड पारित गरिएको महासचिव जीवन काफ्लेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। भेलाले नेपाल निजामती कर्मचारी सङ्गठनको अभिभावकत्वमा सञ्चालित राष्ट्रसेवक सहकारी संस्था लि. हरूको अवस्था सन्तोषजनक रहेको, बचत फिर्ता तथा ऋण असुलीमा कुनै समस्या नरहेको र आगामी दिनमा अझ प्रभावकारी रूपमा सञ्चालन गर्न पारस्परिक सहयोगको आदान प्रदान गर्ने निर्णय गरेको छ।
सम्पन्न पाँचौँ राष्ट्रिय सहकारी भेलाबाट पारित निष्कर्षको सन्देश सहित राष्ट्रसेवक सहकारी संस्थाहरूलाई थप सुदृढीकरण र सबलीकरण गर्न सबै सहकारीहरूमा अभियान सञ्चालन गर्ने महासचिव काफ्लेले जानकारी दिए। राष्ट्रसेवक सहकारी संस्था सञ्चालनमा देखिएका कानुनी जटिलता निराकरणको लागि आवश्यक पहल गर्ने पनि भेलाले प्रतिबद्धता जनाएको छ।

