काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले गठबन्धन सरकारप्रति पार्टीभित्र उनकै शव्दमा वृहत असन्तुष्टि रहेको बताएका छन्। आज (बुधवार) झापामा आयोजित एक कार्यक्रममा बोल्दै नेता खनालले यस्तो बताएका हुन्।
खनालले सरकारमा आफ्नो पार्टी निमित्तमा सहभागी बनेको जिकिर गर्दै गठबन्धन चल्नुपर्ने जसरी चल्न नसकेको बताए।
उनले देशले नयाँ कोर्षको माग गरिरहेको भन्दै आम जनता र राष्ट्रका मागहरुलाई सम्बोधन गर्ने किसिमको सोंचविचार, नीति कार्यक्रमबजेट र योजनाका साथमा नयाँ ढंगले सरकार आउनुपर्ने उल्लेख गरे।
गठबन्धन सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटले जनतालाई छुन नसकेको भन्दै खनालले मुलुकको अर्थतन्त्र संकटपूर्ण रहेको बताए।
उद्योगबाट आउने राजश्व देशमा विक्रमसम्बत १९९५ को भन्दा कम रहेको भन्दै उनले त्यसवेला नेपालको जिडिपीमा औद्योगिक क्षेत्रले १४ प्रतिशत योगदान गरेको भएपनि अहिले ५ प्रतिशत भन्दा कम रहेको बताए।
‘देशले नयाँ कोर्षको माग गरिरहेको छ। देशका आम जनता र राष्ट्रका मागहरुलाई सम्बोधन गर्ने किसिमको सोच, विचारका साथमा, नीतिका साथमा कार्यक्रमका साथमा बजेट र योजनाका साथमा नयाँ ढंगले सरकार आउनुपर्छ’, खनालले भने, ‘सरकारले ल्याएको नीति र कार्यक्रमले जनतालाई छोएको छैन। यो गठबन्धन जसरी चल्नुपर्ने हो, त्यसरी चल्न सकेको छैन । यसमा हाम्रो वृहत असन्तुष्टि छ।
पूर्वप्रधानमन्त्री खनालले देशमा रोजगारी नहुँदा देशको नेतृत्वप्रतिको अविश्वासका कारण युवाहरु विदेश पलायन भइरहेको बताए।