काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राप्रपाको मागलाई आफूले स्वाभाविकरूपमा लिएको बताएका छन्। अध्यक्ष राजेन्द्र लिङ्देनबाट ४० बुँदे ज्ञापनपत्र बुझ्दै उनले सरकारले गरेका राम्रा कामका लागि धन्यवाद दिन र अझ राम्रो गर्न प्रोत्साहित गर्नसमेत राप्रपाका नेताहरूसँग आग्रह गरे।
सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेका राप्रपाका नेताहरूसँग उनले भने, ‘नेपाली जनताले संघर्ष गरेर ल्याएको संविधानले सबै नागरिक र राजनीतिक दललाई शान्तिपूर्ण रूपमा आफ्ना माग राख्ने अधिकार दिएको छ। लोकतन्त्र नै त्यस्तो व्यवस्था हो, जहाँ नागरिकले आफ्ना माग र मुद्दा निर्धक्कसँग राख्न सक्छन्। तपाईँहरूले पनि त्यही माग राख्नुभएको छ। यसलाई मैले स्वाभाविक रूपमा लिएको छु।’
राप्रपाको मागपत्रमा राजसंस्था पुनःस्थापन, प्रदेश खारेजी, हिन्दूराज्य पुनःस्थापनलगायतका राजनीति माग तथा जनजीविकाका विषयहरू समेटिएका छन्। सरकारले ज्ञापन पत्रको विषयलाई विश्वासिलो ढङ्गबाट सम्बोधन नगरे तत्काल सडक र सदन दुवै तहबाट देश र जनताको पक्षमा भद्र र शान्तिपूर्ण आन्दोलन गर्न बाध्य हुने राप्रपाको चेतावनी छ।