राप्रपाले प्रधानमन्त्रीलाई बुझायो ४० बुँदे ज्ञापनपत्र - Chaitanya News
  • 2026-07-11
  • 03:46:17
  • शुक्रबार,आषाढ २६, २०८३
  • राप्रपाले प्रधानमन्त्रीलाई बुझायो ४० बुँदे ज्ञापनपत्र

    राप्रपाले प्रधानमन्त्रीलाई बुझायो ४० बुँदे ज्ञापनपत्र

    काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ४० बुँदे मागसहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएको छ। सिंहदवार पुगेर राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन नेतृत्वको टोलीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो।

    पत्रमा भनिएको छ, ‘आज देशको भविष्यप्रति कुनै नागरिक विश्वस्त छैन। गत ६ महिनामा मात्र ३० लाख नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिए। जान सक्ने भए उनीहरू सबै विदेशिने थिए। विभिन्न कठिनाइ हुँदाहुँदै पनि औपचारिक र अनौपचारिक रूपमा महिनामा एक लाख नेपालीले देश छोड्ने गरेका छन्। अदक्ष र अर्धदक्षमात्र होइन, देशका दक्ष जनशक्ति बाहिरिने क्रम त्यत्तिकै तीव्र छ। व्यवसायीहरूमा बढेको निराशाका कारण पुँजी पलायन बढ्दो छ। देश भित्रभित्रै खोक्रो बनिसकेको छ।

    देश बनाउने मात्र होइन, बचाउनुपर्ने बिन्दुमा नेपाल पुगेको निष्कर्षसहित विगत र वर्तमानका राम्रा र आवश्यक पक्षहरूलाई स्वीकार गर्दै अगाडि बढ्न राप्रपाले आग्रह गरेको छ।

    सरकारले राप्रपाको ज्ञापन पत्रको विषयलाई विश्वासिलो ढङ्गबाट सम्बोधन नगरे राप्रपा तत्काल सडक र सदन दुवै तहबाट देश र जनताको पक्षमा भद्र र शान्तिपूर्ण आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिइएको छ।

    राप्रपाले अभिभावकीय भूमिकामा संवैधानिक राजसंस्था, सर्वधर्म समभावपूर्ण धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दू अधिराज्य, प्रलोभन तथा छलकपटपूर्ण धर्मान्तरणमा तत्काल रोक, प्रदेश संरचनाको खारेजी र दुई तहको सरकार केन्द्र र अधिकार प्राप्त स्थानीय तह, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, कार्यकारी पदहरूमा एक व्यक्ति दुई कार्यकालभन्दा बढी बस्न नपाउने संवैधानिक कानूनी व्यवस्थालगायतको ४० बुँदे माग राखेको छ।