काठमाडौँ– नेपाली काँग्रेसको महासमिति बैठक आज पनि बस्दैछ। ललितपुरको गोदावरीमा हिजो आइतबारदेखि सुरु भएको महासमिति बैठकमा आज विभिन्न प्रतिवेदन पेश गरिने कार्यसूची रहेको छ।
बिहान ९ बजेदेखि सुरु हुने बन्द सत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले साङ्गठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक र अर्थमन्त्रीसमेत रहेका डा।प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्था र चुनौतीबारे प्रतिवेदन पेश गर्ने तय भएको छ।
महामन्त्री थापाको प्रतिवेदनमा संस्थापन पक्षले संशोधनमा माग गरेको थियो। विशेष गरी निर्वाचन अघि गठबन्धन नगर्ने विषयलाई लिएर पार्टीमा विवाद उत्पन्न भएपछि पार्टी सभापति शेरबहादुर देउवाले उक्त प्रतिवेदन सच्याउन भनेका थिए। तर, थापाले सच्याउन नसक्ने अडान लिएपछि उक्त प्रतिवेदन शंसोधनबिनै बैठकमा पेश हुने भएको हो।