काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र नै भएकाले यो व्यवस्थामा भएका कम्जोरीहरुलाई सुधार गरेर जानुको विकल्प नभएको बताएका छन्। आज (सोमबार)राष्ट्रिय प्रजातन्त्र दिवस २०८० समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
‘राष्ट्रिय प्रजातन्त्र दिवस २०८०’ मूल समारोह समितिका अध्यक्ष समेत रहेका उनले आजको दिन नेपाली जनताका लागि ऐतिहासिक भएको बताउँदै सबैमा शुभकामना समेत दिए। यो सरकारले जनउत्तरदायी भएर काम गर्दै आएको र सबै निकायलाई जनताको पक्षमा काम गर्न निर्देशित गरेको उनले सम्बोधनका क्रममा बताए।
सन् २०३० सम्ममा कम विकसित मुलुकको सूचिबाट विकसित राष्ट्रमा सूचिमा परिणत गर्नुपर्ने जरुरी भएको र रोजगारी सृजना गरी बौद्धिक पलायन रोक्नु पर्ने दायित्व सरकारको रहेको उनले बताए। त्यसैले नागरिकको सक्रिय सहभागीबाट मात्र समुन्नत र सार्वभौम मुलुक बनाउन सकिने भएकाले सबैले प्रजातन्त्र र लोकतन्त्रको रक्षामा उभिन आग्रह समेत गरे।