इस्लामावाद– पाकिस्तानमा आम निर्वाचन भएको १० दिन भइसकेको छ। तर अहिलेसम्म पनि कुन–कुन पार्टी मिलेर सरकार बनाउँछन् र को प्रधानमन्त्रीको कुर्सीमा बस्छ भन्ने स्पष्ट भइसकेको छैन। पूर्व प्रधानमन्त्री नवाज शरिफको पार्टी पीएमएलएनको साथसाथै बिलवाल भुट्टोको पार्टी सत्तामा कब्जा जमाउने कोसिसमा लागेका छन्। उता, इमरान खान समर्थित निर्दलीय उमेदवारहरुले पनि विपक्षमा बस्ने दाबी गरिरहेका छन्। यसैबिच सेनाले केही ठुलो कदम चाल्ने आशंका पनि गरिरहेको छ।
अहिलेसम्म निर्वाचनमा धाँधलीका कयौँ मामिलाहरू अगाडि आइसकेका छन्। रावलपिन्डी चुनाव आयुक्तले निर्वाचनमा धाँधलीबारे खुलासा गरेपछि पाकिस्तानमा स्थिति अस्तव्यस्त बनेको छ। सरकारी सञ्चार माध्यम डनमा छापिएको समाचार अनुसार आइतबार अबेर रातदेखि २४ घण्टाका लागि माइक्रो ब्लगिङ वेबसाइट एक्समा प्रतिबन्ध लगाइएको छ । इन्टरनेट सुस्त पारिएकोले सर्वसाधारणहरूले अनलाइन राम्रोसँग चलाउन सकेका छैनन्।
अहिलेसम्मकै लामो प्रतिबन्ध
चुनावमा धाँधलीको आरोपयता पाकिस्तानमा इन्टरनेट लागू भएको यो अहिलेसम्मकै लामो प्रतिबन्ध हो। निर्वाचनको नतिजाबारे विरोध प्रदर्शन चर्किरहेकै समयमा एक्सको प्रयोगमा समस्या आइरहेको छ। पाकिस्तानमा डिजिटल अधिकारका लागि काम गर्ने मंच बोलो भीका निर्देशकले सिन पाकिस्तानमा इन्टरनेटमा प्रतिबन्ध लगाइएको पुष्टि गरेका छन्। केही भीपीएन बाहेक कसैले पनि एक्स चलाउन नसकेको उनले बताए।
हालै पाकिस्तानका एक वरिष्ठ अधिकारीले चुनावमा धाँधलीको आरोप लागेपछि राजीनामा दिएका थिए। पछि उनलाई पक्राउ समेत गरियो। फेब्रुअरी ८ मा भएको निर्वाचनको नतिजामा आफ्नै निगरानीमा चलखेल गरिएको रावलपिन्डीका आयुक्त लियाकत अली चट्ठाले आरोप लगाएका थिए। उनले सारा गलत कामको जिम्मेवारी लिएका थिए। यो धाँधलीमा प्रमुख निर्वाचन आयुक्त र सर्वोच्च अदालतका शीर्ष न्यायाधीश सामेल भएको उनको भनाइ थियो। ७०–८० हजार मतले अगाडि रहेका निर्दलीय उमेदवारहरुलाई समेत आफूहरूले धाँधली गरेर हराएको उनले बताए। हारेका १३ उम्मेदवारलाई जबरजस्ती जिताइएको पनि उनले बताएका छन्। एजेन्सी