प्रधानमन्त्रीलाई महामन्त्री थापाले सोधे: आर्थिक स्थिति गम्भीर छ, सरकारको योजना के छ? - Chaitanya News
  • 2026-07-11
  • 05:19:30
  • शुक्रबार,आषाढ २६, २०८३
  • प्रधानमन्त्रीलाई महामन्त्री थापाले सोधे: आर्थिक स्थिति गम्भीर छ, सरकारको योजना के छ?

    प्रधानमन्त्रीलाई महामन्त्री थापाले सोधे: आर्थिक स्थिति गम्भीर छ, सरकारको योजना के छ?

    काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकको अर्थतन्त्र, बजेट खर्च र राजस्व सङ्कलनको सन्दर्भमा प्रश्न उठाएका छन्। आज (आइतबार )प्रतिनिधिसभामा जारी प्रधानमन्त्रीसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तरका क्रममा सांसद थापाले आर्थिक वर्षको ७ महिनामा सरकारको खर्च र राजस्व सङ्कलनको स्थितिमाथि गम्भीर ध्यानाकर्षण गराए।

    आर्थिक वर्षको ७ महिना बितिसक्दा समेत लक्षित राजस्वको ४० प्रतिशत उठ्न सकेको छैन। खर्च पनि ३५ प्रतिशत कट्न सकेको छैन। यस्तो अवस्थामा ४–५ महिनामा बाँकी राजस्व उठ्ने र तोकिएको खर्च हुने त्यस्तो के आधार छ? प्रधानमन्त्रीलाई थप प्रश्न गर्दै सांसद थापाले भने, ‘बाँकी समयमा तोकिएको खर्च र राजस्व उठ्ने गरी प्रभावकारी काम गर्ने त्यस्तो खास योजना सरकारले के ल्याउँदै छ? यदि छ भने के छ? र छैन भने किन छैन?

    यसअघि पनि दुई–दुई पटक सरकारको नेतृत्व गरिसकेको अनुभव भएकाले प्रधानमन्त्रीलाई यो वा त्यो निहुँ गरेर भाग्ने छुट नभएको उनले बताए।

    ‘मुलुकको आर्थिक स्थिति गम्भीर छ। वित्तीय स्थिति शिथिल छ। विप्रेषण आप्रवाह ९रेमिट्यान्स० बढ्ने बाहेक अन्य आय स्रोत बढेको छैन। र पनि सरकार भनिरहेको रेमिट्यान्स बढ्यो। खास रेमिट्यान्स बढ्नुमा के कारण छ रु जुन सरकारले बारम्बार भनिरहेको छ।

    अर्थतन्त्रको सुधारका खातिर सरकारले खास काम गर्न नसकेको भन्दै सांसद थापाले अर्थ मन्त्रालय र अर्थमन्त्रीले के गरिरहेको छ सोबारे प्रधानमन्त्रीले चासो दिनुपर्ने बताए।

    ‘कि त अर्थ मन्त्रालय प्रधानमन्त्रीको कार्य क्षेत्रभित्र पर्दैन भन्नुपर्‍यो, होइन भने के भइरहेको छ, मन्त्रालयले अर्थतन्त्र सुधारमा के कस्तो गतिविधि काम गरिरहेको छ, प्रधानमन्त्रीले बुझ्नुपर्‍यो। के अर्थतन्त्रको जिम्मेवार अर्थमन्त्री नै हो भनेर प्रधानमन्त्रीज्यूले फ्री छाड्नु भएको हो?’ उनले प्रश्न गरे।