प्रधानमन्त्री प्रचण्डले भने: एमालेले उठाएका महत्त्वपूर्ण सुझाव आगामी बजेटमा समावेश गर्छौं - Chaitanya News
  • 2026-07-11
  • 05:20:29
  • शुक्रबार,आषाढ २६, २०८३
  • प्रधानमन्त्री प्रचण्डले भने: एमालेले उठाएका महत्त्वपूर्ण सुझाव आगामी बजेटमा समावेश गर्छौं

    प्रधानमन्त्री प्रचण्डले भने: एमालेले उठाएका महत्त्वपूर्ण सुझाव आगामी बजेटमा समावेश गर्छौं

    काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेले मध्य पहाडी राजमार्ग संकल्पयात्रामार्फत प्रधानमन्त्रीलाई बुझाएका महत्त्वपूर्ण सुझाव कार्यान्वयनका लागि आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने बताएका छन्।

    आज (आइतबार) प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा एमाले सांसद कृष्णगोपाल श्रेष्ठले आफ्नो पार्टीले बुझाएका सुझाव कार्यान्वयनको अवस्था के भइरहेको छ भनेर गरेको प्रश्नमा प्रधानमन्त्रीले यस्तो जवाफ दिएका हुन्।

    ‘झुलाघाट–चिवाभञ्ज्याङ मध्य पहाडी राजमार्ग म आफैले रेखाङ्कन गरेको हो। त्यसैले यसमा म पनि कहीँ न कहीँ जोडिएको छु’, प्रधानमन्त्रीले त्यस क्षेत्रको विकासमा निर्माणमा आफ्नो समेत चासो रहेको बताए।

    उनले त्यस क्षेत्रमा १० वटा नयाँ शहरसहित दुई वटा शहर निर्माणको क्रम जारी गरेको भन्दै प्रतिवेदनमा उठाएका महत्त्वपूर्ण विषय कार्यान्वयनका लागि सरोकारवाला निकायसँग छलफल र निर्देशन दिइसकेको समेत जानकारी गराए।

    ‘मुख्यसचिवसहित सचिवहरूसँग गहन छलफल भएको छ। समन्वयका लागि एमाले नेता विष्णु पौडेलसँग पनि अलग्गै छलफल भइरहेको छ’, प्रधानमन्त्रीले भने, ‘सरकार यो विषयमा गम्भीर छ। उल्लेख्य सुझाव आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश गरिन्छ।

    नेकपा एमालेले गत मङ्सिरमा मध्य पहाडी सङ्कल्प यात्राका क्रममा आएका सुझावलाई प्रधानमन्त्रीसमक्ष बुझाएको थियो। ७७२ बुँदासहितका उक्त सुझाव कार्यान्वयनबारे के भइरहेको छ? भनेर सांसद श्रेष्ठ आइतबार संसदमा सोधेका थिए।