काठमाडौँ– मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेश सभामा विश्वासको मत लिने भएका छन्। उनले प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएपछि तेस्रो पटक विश्वासको मत लिन लागेका हुन्।
केन्द्रीय गठबन्धनमा अझै सामेल भए पनि प्रदेश सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै जनमत पार्टीले सरकार छोडेपछि संविधानको व्यवस्थाबमोजिम मुख्यमन्त्री यादवले पुनः विश्वासको मत लिनुपर्ने अवस्था बनेको हो।
जनमतले साथ छोडे पनि प्रदेश सभामा यादवलाई बहुमत जुटाउन भने कठिन छैन। उनी जसपाबाट प्रदेश मुख्यमन्त्री चुनिएका हुन्। प्रदेश सभामा रहेका सत्तारुढ दलहरू काँग्रेस, माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी र एकीकृत समाजवादीले उनलाई विश्वासको मत दिने निर्णय गरिसकेका छन्।
यादवले मुख्यमन्त्री बनेपछि अहिलेसम्म आठ पटक मन्त्रिपरिषद् विस्तार गरिसकेका छन्। उनले एक वर्षसम्म पनि उल्लेख्य काम गर्न नसकेको आरोप लाग्दै आएको छ। त्यही कारण देखाउँदै अन्य दलले समेत मुख्यमन्त्री फेर्नुपर्ने भन्दै केन्द्रमा लबिङ गर्दै आएका छन्।
मधेसमा १ सय ७ प्रदेश सभा सदस्यमध्ये सरकारलाई बहुमतका लागि ५४ सदस्यको समर्थन चाहिन्छ। प्रदेशसभामा सबैभन्दा ठुलो दल एमालेका २३, काँग्रेसका २२ र जसपाका १८, जनमत पार्टीका १३, माओवादी केन्द्र, एकीकृत समाजवादी र लोसपाका ९(९ सांसद छन्। राप्रपा, नेसपा र नागरिक उन्मुक्ति पार्टीका १(१ सांसद छन् भने एक जना स्वतन्त्र सांसद रहेका छन्।
यसआधारमा सत्तारुढ गठबन्धनको मत जोगाउन सके मुख्यमन्त्री यादवले यसपटक पनि विश्वासको मत प्राप्त गर्नेछन्।