काठमाडौँ– अर्थमन्त्री प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सम्बन्ध राम्रो र समन्वय पनि भइरहेको बताएका छन्। आज (शुक्रबार)बिहान मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन्।
यस्तै उनले प्रधानमन्त्रीसँग अर्थमन्त्रीको सम्बन्ध बिग्रिएको भनेर प्रचार गरिएको भन्दै त्यसबारे आपत्ति समेत जनाए। उनले प्रधानमन्त्री र मन्त्रीहरूसँग समन्वयमा कुनै समस्या नरहेको दाबी गरे।
‘कता–कता आइरहेको छ, कि अर्थमन्त्रीले बजेट कटौती गरे, त्यसमा प्रधानमन्त्रीको पनि सहमति छैन, प्रधानमन्त्री र अर्थमन्त्रीबीचमा विवाद छ भनेर प्रचार भएको छ,’ उनले भने, ‘कसले किन यस्तो भ्रमपूर्ण प्रचार गरेको हो? म आफैँ अचम्मित छु। वास्तवमा प्रधानमन्त्रीसँग कुनै वादविवाद छैन। राम्रो समन्वय र छलफल भइरहेको छ। विवादको कुनै कुरा छैन। यस्तो भ्रमको सञ्चार नगरिदिन मेरो आग्रह छ।’
अर्थमन्त्री महतले मन्त्रालयले संसद्बाट पारित गरेको बजेट कटौती नगरेको, बरु अर्धवार्षिक समीक्षा गरेको बताए।
‘अर्थमन्त्रीले बजेट कटौती गरेको समाचारहरू आयो,’ अर्थमन्त्री महतले अघि भने, ‘बजेट कटौती गरेको होइन, तर त्यसरी प्रचार गरियो, त्यो गलत हो। बजेट संसद्बाट पारित भएको हो संसद्ले पारित भएको बजेटलाई हामीले बीचैमा फेरबदल गर्ने वा कटौती गर्ने भन्ने कुरा हुँदैन। हामीले छ महिनामा के गर्यौँ? अब के गर्छौ? भन्ने कुरामा हामीले छलफल गरेको हो, अनुमान गरेको हो र समीक्षा गरेको हो।
यसको गलत सन्देश जाने गरी प्रचार भएको छ, म यसमा भ्रमित नहुन आग्रह गर्दछु।’उनले सरकारले बाँकी रहेका छ महिनामा बढीभन्दा बढी आम्दानी उठाउने र खर्च गर्ने गरी काम गर्ने बताए।