विद्यार्थीले समुदाय, समाज र देशको हितमा खोज गर्दै अघि बढ्नुपर्छ : उपराष्ट्रपति यादव - Chaitanya News
  • 2026-07-16
  • 18:22:23
  • बिहिबार,आषाढ ३२, २०८३
  • विद्यार्थीले समुदाय, समाज र देशको हितमा खोज गर्दै अघि बढ्नुपर्छ : उपराष्ट्रपति यादव

    विद्यार्थीले समुदाय, समाज र देशको हितमा खोज गर्दै अघि बढ्नुपर्छ : उपराष्ट्रपति यादव

    काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले दक्षता, सीप र कौशलमा प्राज्ञ उत्कृष्टता हासिल गर्दै विद्यार्थीले समुदाय, समाज र देशको हितमा खोज गर्दै अघि बढ्नुपर्ने बताएका छन्। आज (बुधबार) वसन्त पञ्चमी तथा सरस्वती पूजाका अवसरमा आज नेपाल तराई विद्यार्थी नवजागरण सङ्घले पुल्चोक इन्जिनियरिङ क्याम्पसमा आयोजना गरेको सरस्वती पूजा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै मुलुकको सुनौलो भविष्य निर्माण गर्न शिक्षाले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उनले उल्लेख समेत गरे।

    उपराष्ट्रपति यादवले नेपालको सन्दर्भमा इन्जिनियरिङ शिक्षाको महत्त्व र उपादेयता अझै बढी रहेको बताए । शिक्षासँगै अटल समर्पण, त्याग र तपस्या पनि उत्तिकै आवश्यक भएको उनको भनाइ थियो।

    उपराष्ट्रपति यादवले विकासोन्मुख मुलुकले भोग्दै आएका गरिबी, अशिक्षा, पूर्वाधार विकास र वातावरणीय दिगोपनजस्ता समस्याबाट नेपाल पनि टाढा नरहेको बताए। “यी समस्याको निराकरण र निवारण गर्न इन्जिनियरको भूमिका अहम् छ। तपाईँहरू यथास्थितिलाई चिर्दै सबैखाले चुनौती र समस्याको समाधान गर्न अग्रपङ्क्तिमा हुनुपर्दछ”, उनले भने।

    वसन्त पञ्चमी तथा सरस्वती पूजाले सम्पूर्ण विद्यार्थीमा आपसी मेलमिलाप, भाइचारा, सदाचार, मैत्रीभाव र वन्धुत्वभावका साथ समाज तथा देशको सेवाका लागि दत्तचित्त भई सदैव अग्रसर हुन उत्प्रेरित गर्न सकोस् भनी उपराष्ट्रपति यादवले कामना गरे।