काठमाडौँ– एमालेका प्रमुख सचेतक पदम गिरीले एमालेका मागमा सरकार गम्भीर रहेको महसुस भएको बताएका छन। पार्टीको उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा सबै मन्त्रालयका सचिवहरुसँग भएको छलफल महत्त्वपूर्ण भएको बताए।
आज (बुधबार)सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा भएको छलफल पश्चात् उनले एमालेले गरेका माग र दिएका सुझावहरू सरकारले गम्भीरतापूर्वक लिएको महसुस भएको सञ्चारकर्मीलाई बताए।
उनले भने, ‘आज पार्टीको उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा सबै मन्त्रालयका सचिवहरुसँग बसेर छलफल गरेका छौँ। आउने बजेट, नीति तथा कार्यक्रमअन्तर्गत हामीले पेस गरेका सुझावहरुलाई पनि सम्बन्धित मन्त्रालयले गम्भीरताका साथ लिएर नीति कार्यक्रम र बजेटमा समावेश गर्ने र देशलाई एउटा समृद्धिको बाटोमा अगाडि बढाउने सन्दर्भमा सरकारले पनि यसलाई गम्भीरताका साथ लेओस् भनेर गम्भीरताका यो विषयलाई उठायौ। सचिवहरूले पनि यसलाई गम्भीरतापूर्वक लिएको नै महसुस भएको छ।’
झुलाघाटदेखि चिवा भन्ज्याङ्सम्मको मध्य पहाडी क्षेत्रमा गरेको सङ्कल्प यात्राबाट प्राप्त ७ सय ७३ वटा माग र सुझावहरू एमालेले माघ ९ गते प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले बुझाएको मागपत्रबारे प्रधानमन्त्री दाहालले सुझावहरू सरकारका लागि निकै महत्त्वपूर्ण दस्ताबेज हुनुका साथै कार्यान्वयन गर्न आवश्यक निर्देशन पनि दिने बताएका थिए । त्यसबारे सकारात्मक कुरा भएको पनि सचेतक गिरीले जानकारी दिएका छन्।
उनले भने, ‘प्रधानमन्त्रीले पनि नेकपा एमालेले सरकारलाई बुझाएको सुझाव सरकारका लागि निकै महत्त्वपूर्ण दस्ताबेज हुनुका साथै नीति, बजेट, सुशासनका एजेन्डाहरू बनाउने सन्दर्भमा मार्ग दर्शन बन्न सक्ने भन्नुभएको थियो । यसलाई कार्यान्वयन गर्न आवश्यक निर्देशन पनि दिने कुरा भएको थियो।’