काठमाडौँ– रुकुम पश्चिम स्थायी घर भएका बमबहादुर विकले दक्षिण अमेरिकाको सर्वोच्च शिखर एकान्कागुवाको सफल आरोहण गर्ने पहिलो निजामती कर्मचारी बनेका छन। विकले अर्जेन्टिनाको स्थानीय समय अनुसार फेब्रुअरी १३ का दिन बिहान ९ बजेर ५९ मिनेटमा एकान्कागुवाको सफल आरोहण गरेका हुन्।
काभ्रेको खानीखोला गाउँपालिकामा लेखापालको जिम्मेवारीमा रहेका उनले हिमालको सफल आरोहणसँगै नेपालको राष्ट्रिय झन्डासमेत फहराएका थिए। योसँगै एकान्कागुवा हिमालको सफल आरोहण गर्ने उनी पहिलो निजामती कर्मचारी बनेका छन्।
हिमाल आरोहणपछि उनले भनेका छन्, ‘सात महादेशको उच्च शिखर मध्येको एक दक्षिण अमेरिकाको सबैभन्दा उच्च शिखर एकान्कागुवाको आरोहण गर्न सफल भएको छु। नेपालको निजामती कर्मचारीकै रूपमा उक्त शिखर आरोहण गर्ने पहिलो आरोही हुन पाउँदा गर्व लागेको छ।उनले हिमाल आरोहणका लागि प्रेरणा दिने र सहयोग गर्नेहरू प्रति आभार प्रकट गरेका छन्।
उनले भने, ‘मेरा हरेक सफलतालाई आफ्ना सफलता सम्झेर रमाउने जन्म दिने बाबा–आमाप्रति सधैँ नै ऋणी छु।’ उनले हिमाल आरोहणका लागि सहयोग र हौसला प्रदान गर्ने आफू कार्यरत गाउँपालिकाका अध्यक्ष ईन्द्र बहादुर थिङ ( छिन्ताङ) उपाध्यक्ष दोर्जेमान जिम्बा, प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भुजेल, वडा अध्यक्षहरू लगायत जनप्रतिनिधि र सहकर्मीहरू प्रति आभार प्रकट गरेका छन्।
एकान्कागुवा सात महादेशको उच्च शिखरमध्येको एक हो। उक्त हिमाल ६,९६२ मिटर अग्लो छ। उनले यसअघि अफ्रिकाको अग्लो चुचुरो किलिमाञ्जारो हिमालको समेत सफल आरोहण गरिसकेका छन्।