पत्रकार मनऋषि धितालका जनयुद्धकालीन आधा दर्जन पुस्तक सार्वजनिक - Chaitanya News
  • 2026-07-16
  • 18:22:23
  • बिहिबार,आषाढ ३२, २०८३
  • पत्रकार मनऋषि धितालका जनयुद्धकालीन आधा दर्जन पुस्तक सार्वजनिक

    पत्रकार मनऋषि धितालका जनयुद्धकालीन आधा दर्जन पुस्तक सार्वजनिक

    काठमाडौँ– पत्रकार मनऋषि धितालका आधा दर्जन जनयुद्धकालीन पुस्तकहरू एकसाथ सार्वजनिक गरिएको छ। राजधानीको प्रज्ञा भवनमा एक कार्यक्रमको आयोजना गरी धितालले लेखेका जनयुद्धकालीन डायरीहरूको सँगालो समेटिएका आधा दर्जन पुस्तकहरू एकैसाथ सार्वजनिक गरिएको हो।

    जनयुद्ध दिवसको अवसर पारेर गरिएको सार्वजनिकीकरण कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धलाई नजिकबाट बुझ्नका लागि पुस्तक निकै प्रभावकारी रहेको बताए। उनले नेपाली जनयुद्धले गाउँ गाउँ र बस्ती बस्तीलाई सचेत बनाउने मात्रै नभई देशको परिवर्तनको नेतृत्व गरेको भन्दै त्यसभित्रको वास्तविक कथा पुस्तकमा रहेको बताए।

    प्रधानमन्त्री माओवादी अध्यक्ष प्रचण्डले भने ‘मनऋषिजीले यी पुस्तकमा जे लेख्नुभएको छ, त्यो नेपाली क्रान्तिको एउटा जीवन्त इतिहास बनेर युगौगुग सम्म रहनेछ। यस अर्थमा म उहाँलाई बधाई भन्न चाहन्छु। अहिलेको परिवर्तनका लागि नेपालका हजारौँ सर्वोत्तम छोराछोरीको योगदान रहेको कहिल्यै कसैले भुल्न नहुनेमा जोड दिँदै प्रचण्डले त्यसको धरातल कस्तो थियो र क्रान्ति कसरी अगाडि बढेको थियो भन्ने कुरा पुस्तकहरूमा समेटिएको बताए।

    केही व्यक्ति र संस्थाबाट अझै पनि परिवर्तनको मुख्य जग नेपाली जनयुद्धलाई स्वीकार नगर्ने प्रबृत्ति कायम रहेको भन्दै उनले चाहेर वा नचाहेर पनि संघीयता, गणतन्त्र र नयाँ संविधानको जगलाई सबैले स्वीकार गर्नुपर्ने बताए।

    नेपाली क्रान्तिको बाटो विश्वमा नै पृथक् रहेको भन्दै उनले आर्थिक संवृद्धि मार्फत अब यसलाई पुरा गर्ने प्रक्रियामा रहेको बताए। त्यसका लागि सरकारले सबै खालको तयारी गरिरहेको भन्दै उनले सरकारका राम्रा कामको समर्थन गर्न आग्रह गरे।

    कार्यक्रममा पुस्तकका लेखक मनऋषि धितालले जनयुद्धका क्रममा आफूले डायरी लेख्ने गरेको र अहिले त्यही डायरीलाई पुस्तकको रुपमा प्रकाशन गरेको बताए।

    धितालका मंगलबार सार्वजनिक पुस्तकमा गुफा प्रेसका चिठी, जेलयात्रा, बेनीयात्रा, आधारयात्रा, राजमार्गयात्रा, पिलीयात्रा र गण्डकयात्रा छन्।