वाईसीएलको ‘डिजिटल वक्तृत्वकला’ मा ५१ सहभागी सर्टलिस्ट, विजेतालाई प्रधानमन्त्रीले पुरस्कृत गर्ने - Chaitanya News
  • 2026-07-11
  • 08:09:15
  • शनिबार,आषाढ २७, २०८३
  • वाईसीएलको ‘डिजिटल वक्तृत्वकला’ मा ५१ सहभागी सर्टलिस्ट, विजेतालाई प्रधानमन्त्रीले पुरस्कृत गर्ने

    वाईसीएलको ‘डिजिटल वक्तृत्वकला’ मा ५१ सहभागी सर्टलिस्ट, विजेतालाई प्रधानमन्त्रीले पुरस्कृत गर्ने

    काठमाडौँ– नेकपा माओवादी केन्द्रको सहायक संगठन वाईसीएल नेपालले २८औँ ‘जनयुद्ध दिवस’ का अवसरमा गरेको ‘डिजिटल वक्तृत्वकला’प्रतियोगितामा सहभागीमध्ये ५१ जनाको भिडिओ सर्टलिस्टमा परेका छन्।

    वाईसीएलको उपभोक्ता हकहित संरक्षण विभागले ‘जनयुद्धका उपलब्धि’ विषयमा भिडिओमार्फत वृहत् वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको थियो। यसमा सहभागीले भिडिओमा आफ्नो कुरा बोलेर पठाउन भनिएको थियो।

    ४ मिनेटको भिडिओमा जनयुद्धका उपलब्धिबारे बोलेर केन्द्रीय कार्यालयको फेसबुक पेजमा पठाउन भनिएकोमा ५१ जना सहभागीको भिडिओ छनौट गरिएको वाईसीएलका सचिव तथा उपभोक्ता हकहित संरक्षण विभाग प्रमुख हरि ढकालले बताए।

    डिजिटल बहसमा सहभागी हुनेले माओवादी जनयुद्धअघिको राज्यको आर्थिक, सामाजिक र राजनीतिक व्यवस्था र त्यसपछि देशले प्राप्त गरेका उपलब्धिमा केन्द्रित रहेर आफ्ना तर्क प्रस्तुत गरेका छन्। ५१ जनामध्ये उत्कृष्ट सहभागीलाई फागुन १ गते जनयुद्ध दिवसको अवसर पारेर पुरस्कृत गरिने ढकालले बताए। ढकालसहितको टोलीले आइतवारै प्रधानमन्त्री तथा माओवादी पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर पुरस्कार वितरणको लागि निम्ता दिएको छ।

    पार्टीको विधान अधिवेशनको समेत सोही दिन पारेर ‘प्रचण्ड’को हातबाट सहभागीहरूलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिने ढकालले बताए। आज माघ २८ गते आइतबार दिउँसो १२ बजेसम्म आएका लाइक, कमेन्ट, शेयर र भ्यूजको आधारमा विजेता तथा उपविजेताको टुंगो लगाइने ढकालले जानकारी दिए।

    यद्यपि निर्णायक मण्डलले सहभागी वक्ताको विषयवस्तु उठान, बोल्ने शैली र अन्य क्षमतालाई समेत मूल्यांकन गरेर अन्तिम नम्बर दिनेछ। भिडिओको लाइक, कमेन्ट, भ्यूज र शेयरको ५० प्रतिशत मूल्यांकन हुनेछ। विषयवस्तु र कलात्मक प्रस्तुतिको ५० प्रतिशत मूल्यांकन गरिने आयोजकले जनाएको छ।

    ५१ जना सहभागीमध्येबाट प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रथम हुनेलाई ३० हजार नगद र दोस्रो तथा तेस्रो हुनेलाई क्रमशः २० र १० हजार नगदसहित प्रमाणपत्र दिने कार्यक्रम छ। प्रतिस्पर्धीहरूले पठाएको भिडिओ आयोजकको आधिकारिक पेजबाट मात्रै प्रसारण गरिएको थियो।